गृहपृष्ठ असारमा मात्रै साढे ६३ करोडको अख्तियारी, लेखा समितिले माग्यो मुख्यमन्त्रीलाई स्पष्टिकरण
असारमा मात्रै साढे ६३ करोडको अख्तियारी, लेखा समितिले माग्यो मुख्यमन्त्रीलाई स्पष्टिकरण
४८ करोड २५ लाखमध्ये २९ करोड ९९ लाखको अख्तियारी
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले असारको महिनामा मात्रै साढे ६३ करोड बजेटको अख्तियारी दिएको छ । असार १० गते यता कार्यालयले ६३ करोड ६७ लाख १२ हजार ५८ रुपैयाँको अख्तियारी दिएको हो ।
असारको महिनामा अख्तियारी दिएको बजेट कार्यान्वयनमा संका गर्दै सार्वजनिक लेखा समितिले मन्त्रालयसँग स्पष्टिकरण मागेको छ । बिहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रमुख सचिव टेकनारायण पाण्डेलाई बोलाई स्पष्टिकरण मागेको हो ।
सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्षको अन्तिममा विभिन्न योजना शीर्षकमा बजेटको अख्तियारी दिएकोले सोही विषयमा बुझ्न मुख्यमन्त्रीसहित प्रमुख सचिवलाई बैठकमा बोलाएको जानकारी दिए । उनका अनुसार कार्यालयले जिल्लाका सामाजिक विकास कार्यालयमार्फत ४८ करोड २५ लाख ९५ हजार २७४ बजेटमध्ये २९ करोड, ९९ लाख ५९ हजार रुपैयाँको अख्तियारी दिएको छ ।
त्यस्तै मुख्यमन्त्री दलित महिला आयआर्जन कार्यक्रममा संख्याको आधारमा ९ करोड ९९ लाख २७ हजार आठ सय, कर्णाली उज्यालो कार्यक्रमको लागि २३ करोड ६८ लाख २१ हजार ४५० रकम खर्चको लागि अख्तियारी दिएको श्रेष्ठले बताए । उनले असार १० गते यता पठाएको बजेट खर्च हुने कुरामा संका गर्दै सार्वजनिक लेखा समितिले बजेट खर्च हुने आधार के छ ? भनी लिखित रुपमा केही दिन अगाडि कार्यालयसँग माग गरेको जानकारी दिए । सोहीअनुसार बैठकमा छलफलका लागि मुख्यमन्त्रीसहित प्रमुख सचिवलाई बोलाइएको बताए ।
‘असारमा बजेट खर्च त होला,’ उनले भने, ‘तर कामको गुणस्तर के हुन्छ ? उनले प्रश्न गरे । आर्थिक वर्ष सकिएपछि जिल्लामा गएको बजेटमा अनियमितता हुने भन्दै त्यसमा समितिले खबरदारी गरेको श्रेष्ठले बताए । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल सरकारले आब्हान गरेको लकडाउनका कारण विभिन्न रोजगारमूलक कार्यक्रमका लागि विनियोजन गरेको बजेट पठाउन नसकिएको भन्दै असारमा पठाउनुपरेको जवाफ दिएको श्रेष्ठले बताए ।
उनले कोरोना भाइरस कोभिड–१९ को प्रभावमा परी रोजगारीका लागि बाहिर गएका कर्णालीका अधिकांश युवाहरु कर्णाली फर्किएको र तत्काल उनीहरुलाई रोजगारीमा जोड्न र भोकमरीबाट बचाउनको लागि बजेटको अख्तियारी दिएको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार तत्काल सम्पन्न गर्न सकिने र तत्काल युवाहरुलाई रोजगारीमा जोड्न सकिने योजनाहरु छनौट गरी असारमै भए पनि बजेटको अख्तियारी दिएको मुख्यमन्त्री शाहीले बैठकमा जवाफ दिएका थिए । श्रेष्ठले समितिको बैठकमा असारमा गएको बजेट कार्यान्वयनको विषयमा सामान्य छलफलपश्तात् मुख्यमन्त्री शाहीले जवाफ दिएको जानकारी दिए ।
‘बैठकले अन्य केही निर्णय गरेको छैन,’ उनले थपे, ‘बाँकी हामीहरुले एक–दुई दिन पछि थप निर्णय गर्नेछौं ।’ असारमा बजेट पठाउनुमा नियत कसैको खराब नभए पनि आम नागरिकको मनमा कामको गुणस्तर र बजेट कार्यान्वयन सम्बन्धि एक खालको प्रश्न भने खडा भएको उनले बताए ।
प्रकाशित समय १२:१७ बजे

















