गृहपृष्ठ काठका जीर्ण पोल फेर्न सात अर्ब निकासा हुँदै
काठका जीर्ण पोल फेर्न सात अर्ब निकासा हुँदै
नेपाल विद्युत प्राधिकरणले पुराना र जीर्ण काठका पोल प्रतिस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग ७ अर्ब रुपैयाँ बजेट मागेको छ । प्राधिकरणले देशभरका मक्किएका साढे ३ लाख काठका पोलको स्थानमा फलामे पोल राख्न बजेट माग गरेको हो ।
प्राधिकरणले बजेट माग गरेर मन्त्रालयमा पठाएको पत्र अहिले अर्थ मन्त्रालयमा पुगेको छ । प्राधिकरणबाट आएको पत्र अर्थ मन्त्रालयमा पठाइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । अर्थले प्राथमिकताका आधारमा पोल प्रतिस्थापन शीर्षकमा बजेट निकासा गर्ने जानकारी दिएको जनाइएको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका काठका पोल तुरून्त हटाउन प्राधिकरणलार्इ निर्देशन दिएका थिए । काठका पोलकै कारण विद्युतीय दुर्घटना बढिरहेको गुनासो आएपछि मन्त्री पुनले निर्देशन दिएका हुन् ।
दुर्गम जिल्लामा १० वर्षअघि गाडिएका काठका पोल मक्किएर भाँचिन थालेका छन् । पहिलो चरणमा मक्किएका र हावाहुरीले ढालेका पोल परिवर्तन गर्ने योजनामा प्राधिकरण छ । त्यसपछि क्रमशः सबै काठका पोल प्रतिस्थापन गरिनेछ ।
काठका पोल परिवर्तन गर्नेबारे मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक र सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपालबीच पनि छलफल भइसकेको छ । महासंघअन्तर्गतका सामुदायिक संस्थाले विद्युतीकरण गरेका अधिकांश जिल्लामा काठका पोल गाडिएका छन् ।
प्रकाशित समय १६:३४ बजे