गृहपृष्ठ वायुसेवा निगमले किन्ने भयो ८ जहाज, निगम लन्डनपछि न्युयोर्क उड्ने
वायुसेवा निगमले किन्ने भयो ८ जहाज, निगम लन्डनपछि न्युयोर्क उड्ने
काठमाडौं – नेपाल वायुसेवा निगमले ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज गरी ८ जहाज खरिद गर्न लागेको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवन्ध निर्देशक शुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न लागिएको बताए ।
फान्सको कम्पनीसँग खरिद सम्झौता भएको वाइडबडि विमान आगामी जेठसम्म आइपुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको आय बढाउदै लैजाने नीति रहेको बताउँदै उनले एयर बस खरिद गर्न प्रक्रिया सुरु गरिसकेको पनि जानकारी गराए ।
अबको तीन महिनापछि दुइटा ठूला (वाइड बडी ए ३३०) विमान ल्याउने तयारी गरिरहेको नेपाल वायुसेवा निगमले अमेरिकाको न्युयोर्कसम्म पुग्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । कंसाकारले भने, ‘वाइडबडी ल्याइसकेपछि हाम्रो गन्तव्य लन्डनसम्म हो। लन्डनपछिको अर्को हब न्युयोर्क हुनेछ।’ पर्यटनका लागि न्युयोर्क नपुगी नहुने सुनाउँदै कंसाकारले थपे, ‘सिड्नी, जापान, कोरिया र युरोपियन सहरमा जानैपर्छ। इथोपियन एयरलाइन्स क्यानडा र अमेरिकाका ३/४ वटा सहरमा जान सक्छ भने हामी किन नसक्नु? हाम्रो भविष्यको योजना यही हो।’ न्युयोर्कसम्म पुग्ने योजनामा उनले काठमाडौंदेखि लुक्लाको उडानको तुलनामा न्युयोर्कको उडान सजिलो हुने बताए। ‘यहीँ हुनुहुन्छ हाम्रा क्याप्टेनसाप, सोध्नुहोस् लुक्ला उड्नुभन्दा न्युयोर्क सजिलो छ।’
प्रकाशित समय ०८:०० बजे

















