गृहपृष्ठ दिनभर कार्यालय, घर पुग्नेबित्तिकै टेलिभिजन, आफैंलाई खतरा
दिनभर कार्यालय, घर पुग्नेबित्तिकै टेलिभिजन, आफैंलाई खतरा
लामो समय कार्यालयमा बिताएर घर पुग्नेबित्तिकै ओछ्यानमा पल्टेर टेलिभिजन हेर्नेलाई हृदयरोगको सम्भावना धेरै हुने एक अनुसन्धानले देखाएको छ । कार्यालयबाट घर पुगेर कपडा फेरेर टेलिभिजन खोल्नु हृदयका लागि हानिकारक देखिएको हो ।
कार्यालयबाट फर्कनेबित्तिकै ओछ्यानमा पनि जानु फाइदाजनक हुँदैन । लामो समय कार्यालयमा बसेर काम गर्दा टेलिभिजन हेर्दाजस्तो खतरा हुँदैन । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको अनुसन्धानले यो कुरा पुष्टि गरेको छ ।
अध्ययनअनुसार खाली समयमा बसेर टेलिभजन हेर्नाले हृदय रोग र मृत्युको जोखिम बढी हुन्छ । यस्तै एउटा रिपोर्ट जर्नल अफ दि अमेरिकन हर्ट एसोसिएसनमा पनि प्रकाशित भइसकेको छ । हल्का वा फुर्तिला व्यायामपछि टेलिभिजन अघि बसेर हानिकारक प्रभाव कम गर्न सकिने यस वैज्ञानिक अध्ययनबाट पुष्टि भएको छ ।
लेखक किथ एम डियाजका अनुसार कार्यालयबाहिर बिताउने समयले तपाईंको स्वास्थ्य अवस्थाबारे जानकारी दिन्छ । कार्यालयमा लामो समय बस्नेले घर पुगेर सामान्य वा विशेष व्यायाम गर्दा हृदय रोगबाट हुनसक्ने खतराको जोखिम कम गर्न सकिन्छ । अधिक टेलिभिजन हेर्नेहरुले शारीरिक मेहनत पनि बढी गर्नुपर्छ ।
अध्ययनकर्ताका अनुसार जति समय टेलिभिजन हेरिन्छ, त्योभन्दा बढी समय व्यायाम गर्नु वा छिटोछिटो हिँड्ने गर्नुपर्छ । यसो गर्नाले हृदयाघात वा मृत्युको खतरा कम हुन्छ । दिनमा चार घण्टा टेलिभिजन हेर्नेहरुले सातामा कमसेकम १५० मिनेट शारीरिक व्यायाम गर्ने हो भने हृदय रोग वा मृत्युको खतरा नहुने अध्ययनहरुको निष्कर्ष छ ।
डा. गौरव गुप्ताका अनुसार बिहान र साँझ घुम्न निस्कनेहरुको स्वास्थ्यमा यस प्रकारको समस्या हुँदैन । दिनभर कार्यालयमा बसेर गरेको कामको थकान मेट्न ओछ्यानमा पल्टनेहरुलाई चिकित्सकहरुले चेतावनी दिएका छन् । यसरी सुतेर टेलिभिजन हेर्नुभन्दा परिवारका सदस्यसँग समय बिताउनु स्वास्थ्यका लागि राम्रो हुने उनीहरुका सुझाव छ । (एजेन्सी)
प्रकाशित समय ११:४० बजे

















