गृहपृष्ठ कर्णालीमा तीन सय शय्याको अस्पताल

कर्णालीमा तीन सय शय्याको अस्पताल

pradesh-aspatal-newskarobar

कर्णाली प्रदेश अस्पतालका लागि निर्माण गरिएको तीन सय शय्याको भवन शनिबार हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको साढे ५४ करोड लागतमा सम्पन्न उक्त भवन हस्तान्तरण गरिएको हो ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भवन हस्तान्तरण गरेका थिए । मन्त्री राईले मुख्यमन्त्री शाहीलाई भवन हस्तान्तरण गरेलगत्तै शाहीले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई भवन जिम्मा लगाए । रावलले पनि शनिबार नै प्रदेश अस्पताल कालागाउँका व्यवस्थापन समिति अध्यक्ष श्याम कँडेल र मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्कालाई अस्पताल भवन हस्तान्तरण गरिसकेका छन् ।

भवन निर्माणका लागि २०७३ माघ १२ गते सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका आयोजना प्रमुख जगदीश लामिछानेले जानकारी दिए । उनले उक्त भवन ५४ करोड ५५ लाखमा सम्पन्न भएको बताए । ‘भवन निर्माण ३६ महिनामा गरिसक्नुपर्ने थियो,’ लामिछानेले भने, ‘तर समयअगावै काम सम्पन्न गर्न सफल भएका छौं ।’

काम सम्पन्न गरिसक्नुपर्ने अवधि २०७६ माघ ११ गते भए पनि कार्यालयले ०७६ साउन १९ गते नै सम्पन्न गरेको उनले जानकारी दिए । हालसम्म ५० शय्याबाट सेवा दिँदै आएको कर्णाली प्रदेश अस्पताल कालागाँउमा २५० शय्या थपिएपछि नागरिकले अझै राम्रो सेवा पाउने विश्वास गरिएको छ ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु