गृहपृष्ठ फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापर्बाही, आँखाको ज्योति गुम्ने खतरा

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापर्बाही, आँखाको ज्योति गुम्ने खतरा

चिकित्सकको लापर्बाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ ।

उदयपुरको बेलका नगरपालिका ६ की समीक्षाको वैशाख १२ गते बारीमा काम गर्दा ढुंगा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो । अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । प्रतिष्ठानका चिकित्सकले आँखाको उपचार थाल्नुको सट्टा समीक्षालाई कोरोनाभाइरसको आशंकामा आइसोलेसनमा राखेका थिए । ‘उदयपुरबाट आएको भन्ने थाहा पाएपछि आइसोलेसनमा राखे, उपचारतर्फ ध्यान दिएनन्,’ हाल विराटनगरस्थित आँखा अस्पतालमा रहेका समीक्षामा बुबा दलबहादुरले फोनमा भने, ‘चिकित्सकको लापर्बाहीले छोरीको उपचारमा समस्या भयो ।’ चार दिनपछि चिकित्सकले उपचार हुन नसक्ने भन्दै विराटनगर आँखा अस्पताल लैजान उनलाई सल्लाह दिएका थिए ।

धरानका चिकित्सकले तीन दिनसम्म आइसोलेसनमा राखेकै कारण समीक्षाको उपचार गर्न कठिन बनेको छ । ‘समयमै अस्पताल नपुर्याउँदा चिकित्सकले आँखाको ज्योति गुम्ने खतरा बढ्यो भनेका छन्,’ अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रदेश १ उपाध्यक्ष किशोर राईले भने, ‘शल्यक्रिया गर्न ढिला भएको छ, चिकित्सकसित सल्लाह गरिरहेका छौँ ।’ घाउ नघटेकाले शल्यक्रिया गर्न ढिला भएको चिकित्सकले जानकारी गराएको उनले बताए । समीक्षाको उपचारको सबै खर्च एन्फाले बेहोर्ने राईले जानकारी दिए ।

बारीमा सिमल तरुल खन्ने क्रममा १५ वर्षीया समीक्षाको आँखामा चोट लागेको थियो । आँखा दुख्न थालेपछि उनलाई रामपुर ठोक्सिला स्वास्थ्य चौकी लगिएको थियो । आँखाको नानीमा चोट लागेका कारण उनलाई चौकीका स्वास्थ्यकर्मीले उपचारका लागि धरान लैजान सल्लाह दिएका थिए । उनलाई ज्वरो आएको भन्दै बिपी प्रतिष्ठानका चिकित्सकले कोरोना भाइरसको आशंका गरे । उपचारतर्फ नलागी समीक्षालाई आइसोलेसनमा राखियो । ‘हामीले उपचार भइरहेको छ भन्ने ठान्यौँ,’ समीक्षाका दाजु सनमले भने, ‘चार दिनपछि चिकित्सकले विराटनगर लैजानुस् भनेपछि आत्तियौँ ।’ समीक्षाको नमुना संकलन गरेर परीक्षण गरेपछि तीन दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

समीक्षालाई वैशाख १८ गते विराटनगरस्थित आँखा अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्थाबारे बुबा दलबहादुर र दाजु सनमलाई खासै जानकारी छैन । दुवै जना समीक्षालाई सन्चो होला कि भनेर अस्पतालमा कुरेर बसेका छन् । उपचारका लागि ढिला ल्याएका कारण समस्या जटिल रहेको चिकित्सले जानकारी दिएको सनमले बताए । ‘धरानका चिकित्सकले सुरुमै आँखा अस्पताल लैजान सल्लाह दिएको भए यस्तो हुँदैनथ्यो,’ बुबा दलबहादुरले भने ।

यु १६ राष्ट्रिय महिला टोलीकी सदस्य समीक्षाले स्थानीय लिटिल स्टार स्कुलबाट ८ कक्षाको परीक्षा दिएकी हुन् । उनी स्थानीयदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा भाग लिँदै आएकी थिइन् । अग्रपंक्तिमा खेल्ने गरेकी समीक्षा सम्भावना बोकेकी खेलाडी थिइन् । आर्थिक अवस्था निकै कमजोर भएका कारण हाल उनको उपचारमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । उनको उपचारका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार २५ हजार सहयोग गरेका छन् । त्यस्तै बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले पनि उनको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले समीक्षालाई ज्वरो आएका कारण सुरुमै आइसोलेसनमा राखिएको बताए । ‘ज्वरो धेरै आएकाले कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको हो, पछि उपचार गर्दा यहाँ निको हुने देखिएन, विराटनगर लैजान सिफारिस गरेका हौँ,’ उनले भने । (रासस)

प्रकाशित समय ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु