गृहपृष्ठ निजामती कर्मचारी अस्पतालको सेवा नियमित
निजामती कर्मचारी अस्पतालको सेवा नियमित
मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरंग (ओपीडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो ।
अस्पतालले दुई सातादेखि ओपीडी नियमित रूपमा सञ्चालन गरिरहेको छ भने अन्य जटिल प्रकारका बिरामीको पनि उपचार गर्दै आएको छ । स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालले जानकारी दिइन् ।
उनले अस्पतालमा आँखा र दाँतको उपचारबाहेक अस्पतालले दिने अन्य सबैखाले उपचार सेवा उपलब्ध गराइएको बताइन् । प्रशासकीय अधिकृत नेपालका अनुसार अहिले दैनिक २०० हाराहारी बिरामीले ओपीडी सेवा लिइरहेका छन् । पहिला सामान्य अवस्थामा बढीमा एक हजार २०० बिरामी ओपीडी सेवामा हुन्थे । अस्पतालले लकडाउन जारी भएपछि सुरुमा बिनाटिकट बिरामीको उपचार गरेको थियो भने पछिल्लोपटक सेवा नियमित गरेपछि टिकट काटेर सेवा दिएको जनाएको छ ।
अस्पतालले कोभिड- १९ का बिरामीलाई लक्षित गरेर ‘फिवर क्लिनिक’ सञ्चालन गरिरहेको छ । कोभिडका शंकास्पद बिरामी देखिएको अवस्थामा अन्य कोभिड उपचार हुने अस्पतालमा सिफारिस गर्ने गरिएको अस्पतालले जनाएको छ । क्लिनिकमा धेरै संख्यामा बिरामी आएका छैनन् । अस्पतालले प्रसूति सेवा नियमित गरिरहेको छ । हाडजोर्नीलगायतको शल्यक्रिया पनि गरिँदै आएको प्रशासकीय अधिकृत नेपालले बताइन् ।
अस्पतालले स्वास्थ्य परीक्षण ‘होलबडी चेकअप’ को सेवा दिए पनि साधारण अवस्थाका बिरामीलाई सेवा दिएको छैन । त्यो भनेको सामान्य अवस्थामा व्यक्तिको इच्छाअनुरुपका स-साना परीक्षणलाई रोकिएको छ । चिकित्सकको सिफारिसअनुसारका मात्रै परीक्षण गरिने गरिएको छ । (रासस)
प्रकाशित समय ११:३४ बजे

















