गृहपृष्ठ चीनबाट आइपुग्यो स्वास्थ्य सामग्री, सेनाको १४ नं. बाहिनीमा संकलन
चीनबाट आइपुग्यो स्वास्थ्य सामग्री, सेनाको १४ नं. बाहिनीमा संकलन
थप ४७.५ टन सामग्री केही दिनभित्रै ल्याइँदै
स्वास्थ्य सामग्री बोकेका कन्टेनर ।
कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ ।
चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै शनिबार साँझ काठमाडौँ आइपुगेका हुन् । ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा संकलन गरिएको छ ।
सरकार-सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउनलगायतका एक हजार १८० क्युबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनए ।
खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ । त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ । अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ ।

नेपालले चीनसँग कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पीपीईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । खरिद गरिएका बाँकी सामग्री बोकेका कन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन् । ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ ।
नेपाली सेनाले कोभिड-१९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वारेन्टाइन र अस्पतालसमेत निर्माण गरिरहेको छ । मुलुकको आवश्यकता र कोभिड-१९ ले निम्त्याएको संक्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, सेनिटाइजर र पीपीईको उत्पादनसमेत गर्दै आएको छ ।
सरकारले सम्भावित कोरोनाको संक्रमण जोखिमको मूल्यांकन गरी समयमै ‘बन्दाबन्दी’ घोषणा गरेका कारण नेपालमा हालसम्म २७८ जनामा कोरोनाबाट संक्रमित भए पनि हालसम्म कुनै मानवीय क्षति भने भएकोे छैन । हालसम्मको अध्ययन र अनुसन्धानबाट सामाजिक दूरी कायम गर्नु नै संक्रमणबाट जोगिने उत्तम उपाय मानिएको छ ।

प्रकाशित समय २०:३६ बजे

















