गृहपृष्ठ चीनको क्वाङ्चौबाट १५ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
चीनको क्वाङ्चौबाट १५ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
नेपाली सेनाले चीनको क्वाङ्चौ (ग्वान्जाओ)बाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार बिहान काठमाडौँ ल्याएको हो ।
निगमको सो वाइडबडी जहाज बुधबार राति चीनको क्वाङ्चौ उडेको थियो । सो जहाजले सो स्थानबाट करिब १५ टन स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार वाइडबडी जहाजका दुई उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेवल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको उनले बताए ।
सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने योजना बनाएको थियो । यसअघि यही जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउने जनाएको छ । (रासस)
प्रकाशित समय १३:३२ बजे

















