गृहपृष्ठ महामारीपूर्व सरकारको शून्य तयारी
महामारीपूर्व सरकारको शून्य तयारी
विश्वव्यापी रूपमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलनुपूर्व नेपाल सरकारको तयारी शून्य भएको पाइएको छ । कोभिड–१९ भन्दा अगाडि नै पनि बेलाबेलामा डेंगीसहित देशका विभिन्न भेगमा केही सरुवा रोगको प्रकोप फैलिने गरेको सन्दर्भमा सरकारको तयारी भने कमजोर भएको पाइएको हो ।
चालू आर्थिक वर्षमा सरकारले महामारी तथा रोग नियन्त्रण कार्यक्रमका लागि भनेर कुल ४६ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा फागुन मसान्तसम्म साढे ३१ प्रतिशत बजेटमात्रै खर्च भएको पाइएको छ । यो पनि तलबभत्ता र प्रशासनिक कार्यमा मात्रै खर्च भएको हो ।
यो कार्यक्रमका लागि चालूतर्फ ४३ करोड ३६ लाख र पुँजीगततर्फ २ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म चालूतर्फ १३ करोड ६६ लाख खर्च भएकोमा पुँजीगततर्फ पाँच पैसा पनि खर्च नभएको अर्थमन्त्रालयको विवरणले देखाएको छ ।
शुक्रराज ट्रपिकल अस्पताललाई चालू वर्षमा पुँजीगततर्फ जम्मा ५० लाख रुपैयाँ र जनस्वास्थ्य प्रयोगशालालाई जम्मा ३ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएकोमा फागुनसम्म शुक्रराज अस्पतालले पुँजीगततर्फ शून्य खर्च गरेको छ भने जनस्वास्थ्य प्रयोगशालाले २९ लाख ६९ हजार अर्थात विनियोजनको ८.६ प्रतिशतमात्र खर्च गरेको छ ।
पुँजीगततर्फ विनियोजित बजेट पूर्वाधार निर्माण, सार्वजनिक खरिदलगायतका क्षेत्रमा खर्च गरिन्छ । यो शीर्षकमा विनियोजन हुने बजेटले वास्तविक रूपमा त्यस क्षेत्रको पूर्वाधार र अन्य आवश्यक सामग्री खरिदमा सरकार कति जिम्मेवार छ भन्ने देखाउँछ ।
जबकी, माघको मध्यदेखि नै चीनबाट कोभिड–१९ को प्रकोप विस्तार हुन थालिसकेको थियो । सरकार भने फागुनसम्म नेपाल ‘कोरोनामुक्त राष्ट्र’ भएको प्रचार गर्न व्यस्त भएकाले यससँग सम्बन्धित तयारी नभएको हो ।
‘नेपालमा महामारीहरूसँग सम्बन्धित सरकारी बुझाइकै कमजोरी छ, महामारी नफैलिन्जेल त्यसभन्दा अगाडि गर्नुपर्ने तयारीहरूका लागि खर्च नै नगर्ने प्रवृत्तिको सूचक हो, यो बजेट र खर्च’, जनस्वास्थ्यविद डा. समीरमणी दीक्षितले भने ।
सन् २००९ मा विश्वव्यापी रूपमा स्वाइन फ्लुको महामारी देखिएको र सोही वर्ष नेपालको जाजरकोटलगायतका जिल्लाहरूमा झाडापखालाले ४७० जनाको मृत्यु भएको सन्दर्भमा सरकारले महामारी नियन्त्रणलाई गम्भीरतापूर्वक लिदै नलिएको ठहर डा. दीक्षितको छ ।
‘विश्वव्यापी रूपमा बेलाबेलामा देखापर्ने महामारीहरूका सन्दर्भमा नेपालमा पूर्वतयारी निकै कमजोर छ भन्ने कुरा अहिलेको कोरोना भाइरस महामारीले नै प्रमाणित गरिसकेको छ । अहिलेसम्म महामारी नियन्त्रणका लागि पूर्वाधार निर्माण, जनशक्ति विकास र प्रयोगशालाको स्तरोन्नतिमा कमै सोचेको देखियो,’ डा. दीक्षितले भने ।
प्रकाशित समय १२:०३ बजे

















