गृहपृष्ठ पिसिआर गरेको ११ दिनसम्म आएन रिपोर्ट, आरडिटी गरेर पठाइयो घर
पिसिआर गरेको ११ दिनसम्म आएन रिपोर्ट, आरडिटी गरेर पठाइयो घर
धनुषाको बटेश्वर गाउँपालिकाको क्वारेन्टिनमा बसेका नौ जना युवाको पिसिआरका लागि स्वाब संकलन गरेको ११ दिनसम्म पनि रिपोर्ट नआएपछि आरडिटी गरेर घर पठाइएको छ । पिसिआरका लागि स्वाब संकलन गरिएकासहित १६ जनालाई शुक्रबार घर पठाइएको हो ।
पिसिआरका लागि बटेश्वरमा जेठ १२ गते नै नौ जनाको स्वाब संकलन गरेर काठमाडौँस्थित राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो । ११ दिनसम्म पनि रिपोर्ट नआएपछि लामो समय क्वारेन्टिन बसेका उनीहरुलाई आरडिटी चेकजाँच गरी आज घर पठाइएको बटेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले जानकारी दिए ।
बटेश्वर ५ शान्तिपुरको श्री काली जनज्योति आवासीय विद्यालयको क्वारेन्टिनमा यसअघि गरिएको पिसिआरको रिपोर्टअनुसार एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । अहिले सामान्य अवस्था देखिएका उनीहरूलाई क्वारेन्टाइनमा बसिरहँदा स्वास्थ्य समस्या बढ्न सक्ने अनुमानमा सरकारको पछिल्लो निर्देशिकाबमोजिम आरिडिटी परीक्षण गरेर घर पठाइएको यादवले बताए । आरडिटी परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएकाले उनको क्वारेन्टिनमै राखेर उपचार गरिने स्वास्थ्य संयोजक रुद्रनारायण यादवले जनाए ।
शुक्रबार १६ जनालाई घर पठाइएसँगै अब क्वारेन्टिनमा बस्नेको संख्या ३३ मा झरेको छ । घर पठाइएकाहरूलाई थप एक साता होम क्वारेन्टिनमा बस्न भनिएको छ ।
प्रकाशित समय १८:०२ बजे

















