गृहपृष्ठ जिल्ला प्रशासनलाई ‘संक्रमित क्षेत्र’ घोषणा गर्नसक्ने अधिकार प्रत्यायोजन

जिल्ला प्रशासनलाई ‘संक्रमित क्षेत्र’ घोषणा गर्नसक्ने अधिकार प्रत्यायोजन

राति १० बजेपछि हिँडडुल गर्न प्रतिबन्ध

home-ministry-griha-mantralaya

देशभित्र कोभिड-१९ का संक्रमितहरू बढ्न थालेसँगै सरकारले ‘संक्रमित क्षेत्र’ (कन्टेन्मेन्ट जोन) घोषणा गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा रोक लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

गृहमन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड- २०७७’ जारी गर्दै कोभिड–१९ संक्रमण र जोखिम परिस्थिति मूल्यांकनका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्राधिकार भित्रको स्थानमा ‘संक्रमित क्षेत्र’ (कन्टेन्मेन्ट जोन) घोषणा गर्नसक्ने अधिकार दिएको हो ।

स्थानीय प्रशासनद्वारा घोषणा गरिएको यस्तो ‘संक्रमित क्षेत्र’ मा अत्यावश्यक सेवाबाहेकका कुनै पनि क्रियाकलापमा रोक लगाउन सक्ने अधिकार दिइएको छ ।  सम्बन्धित जिल्ला प्रशासनले ‘संक्रमित क्षेत्र’मा आवश्यकताअनुसार कन्ट्याक्ट ट्रेसिङ, हरेक स्थान र घरको निगरानी गराउन सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी, स्थानीय प्रशासनले कोभिड-१९ संक्रमित क्षेत्र बाहिरको स्थानलाई परिस्थिति मूल्यांकनका आधारमा मध्यवर्ति क्षेत्र (बफर जोन)का रूपमा पहिचान गर्न आवश्यक व्यवस्थापन मिलाउन सक्ने अधिकार पनि दिइएको छ ।

मापदण्ड जारी गर्दै सरकारले आंशिक रूपमा बन्दाबन्दी खुला गरेसँगै अत्यावश्यक कामबाहेक आवास वा कार्यस्थलबाट बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ भने अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाइ राती १० बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न पूर्ण निधेष गरेको छ । यसको अनुगमनको जिम्मेवारी प्रहरीलाई दिइएको छ ।

सरकारले जेठ २८ को मन्त्रिपरिषद बैठकबाट बन्दाबन्दीको वर्तमान अवस्थालाई सहजीकरण गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले सेवा प्रदायक सरकारी तथा गैर सरकारी कार्यालय, निजी उद्योग व्यवसाय सञ्चालन गर्ने निकायहरू, सबै संघसंस्था तथा आमनागरिकले पालना गर्नुपर्ने गरी ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड- २०७७’ जारी गरेको हो ।

मापदण्डमा कोभिड-१९  संक्रमणको जोखिम कायमै रहेकोले सबै नागरिकले स्वास्थ्यसम्बन्धी उच्च सतर्कता अपनाउन भन्दै आवतजावत गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्नु–गराउनु पर्ने उल्लेख छ ।

यस्तै, तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा वा कार्यस्थलमा कामकाज गर्दा, सेवा प्रवाह एवं आवतजावत लगायतका कार्यमा संलग्न रहने व्यक्तिहरूले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्ने, स्यानिटाइजर साथमा राख्नु पर्ने मापदण्डमा उल्लेख छ ।

यस्तै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्य गर्दा १५ जनाभन्दा बढी आगन्तुक व्यक्तिहरू भेला हुन नपाइने र उनीहरूले पनि सामाजिक दूरी पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्डअनुसार उद्योग, कलकारखाना, भौतिक पूर्वाधार निर्माण, विकास निर्माणजस्ता कार्य गर्दा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी जम्मा हुने नपाउने व्यवस्था सम्बन्धित उद्योगी, व्यवसायी, निर्माणकर्ता वा व्यवस्थापकले मिलाउनु पर्नेछ ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु