गृहपृष्ठ सुदूरपश्चिम जोखिममा, बागमती र गण्डकीमा छिट्पुट, अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’
सुदूरपश्चिम जोखिममा, बागमती र गण्डकीमा छिट्पुट, अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’
८७ प्रतिशत संक्रमित पुरुष, अधिकांश १५ देखि ५४ वर्षका
सरकारले कोरोनाभाइरस समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म समुदायस्तरमा कोरोनाको संक्रमण फैलिइनसकेको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा उनले त्यस्ताे बताएका हुन् ।
‘यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपथ्र्यो । त्यो भएको छैन । तीन प्रतिशत संक्रमित बाहिरबाट नआएका व्यक्तिमा देखिएको भए पनि क्वारेन्टिनमा बसेको व्यक्तिसँग कुनै न कुनै प्रकारको ‘लिंक’ भएको पाइएको छ,’ उनले भने, ‘कोरोना भाइरस समुदायमा आउन सक्छ, योसँगसँगै जानुपर्ने हुन सक्छ, तर अहिलेसम्म समुदायसम्म कोरोना भाइरस पुगिसकेको होइन ।’
समुदायस्तरमा कोरोना फैलिएको छ/छैन भन्नेमा धेरै प्रश्न उठ्ने गरेको भन्दै उनले अधिकांश संक्रमित विदेशबाट आएको व्यक्ति भएको बताए । ‘अहिलेसम्म ८७ प्रतिशत संक्रमित पुरुष छन् । उहाँहरु पनि १५ देखि ५४ वर्ष सम्मका हुनुहुन्छ । उहाँहरु श्रम गर्न अन्य देश जानुभएको थियो । विदेशमा श्रम गर्न जाँदा उहाँहरुमा कोरोना संक्रमण भएको हो,’ निर्देशक पाण्डेले भने ।
काठमाडाैं उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै उनले संक्रमितको स्रोत पत्ता लगाउने गरी खोजपड्ताल भइरहेको बताए । ‘संक्रमितले आफ्नो ठेगाना काठमाडौँ राखेको महाशाखाको रेकर्डमा छ । त्यसमध्ये १७५ काठमाडौँका, ४१ ललितपुर र ४३ जना भक्तपुरका हुनुहुन्छ, यीमध्ये ७९ जना विदेशबाट उद्धार गरी ल्याइएको हुनुहुन्छ,’ उनले भने ।
कसरी बढे काठमाडौँमा संक्रमित
विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा संक्रमण बढेको उनले बताए । विदेशमा अलपत्र परेको नागरिकको उद्धार गरिँदा उपत्यकामा केही संक्रमण बढ्न गएको महाशाखाको ठम्याइ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सम्बन्धित मुलुकले पीसीआर परीक्षण गरेर नपठाउँदा विदेशबाट आउनेमा संक्रमण देखिएको उनको भनाइ छ । विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पीसीआर, ३५ प्रतिशतले आरडीटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको उनले जानकारी दिए । कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएको उनको भनाइ छ ।
केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कबाट सिधैँ अस्पताल पठाइएको निर्देशक पाण्डेले बताए । खाडीका साउदी अरेबिया, कुवेत, माल्दिभ्सलगायत मुलुकबाट संक्रमित आएको अवस्था छ । आयातीत संक्रमितबाट उपत्यकामा जोखिम बढेको छ/छैन भनेर अध्ययन गर्न विभिन्न १२ स्थानमा नमूना परीक्षण गरिएको उनले बताए । तीमध्ये नख्खुटोल र तीनकुनेमा २२८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको उनले जानकारी दिए । ‘अन्य नौ ठाउँको पनि नमूना संकलन भइरहेको, एक/दुई दिनमा नतिजा आउँछ, त्यसपछि काठमाडौँको के अवस्था छ भन्ने प्रस्ट हुन्छ,’ उनले भने । महाशाखाका निर्देशक पाण्डेले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेलचेक्र्याइँ नगर्न अपिल गरे ।
‘लक्षणविहीन कोरोना संक्रमित’
नेपालमा कोरोना संक्रमण भएकामध्ये ९९ प्रतिशत कोरोना संक्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ । महाशाखाका निर्देशक पाण्डेले संक्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताए । ‘अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन,’ उनले भने, ‘उहाँहरु संक्रमित हुनुहुन्छ, तर उहाँको लक्षण केही छैन ।’
नेपालमा देखिएको कोरोना संक्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । तीमध्ये आजसम्म आरटी पीसीआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ । ‘अहिलेसम्म हाम्रो स्थिति हेर्दाखेरि वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट संख्या छ,’ उनले भने, ‘अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।’
प्रकाशित समय २०:२३ बजे

















