गृहपृष्ठ विज्ञहरू भन्छन्, सरकारले संक्रमितको तथ्यांक लुकायो

विज्ञहरू भन्छन्, सरकारले संक्रमितको तथ्यांक लुकायो

Infected Cases_NewsKarobar

जनस्वास्थ्य विषयका अध्येताहरूले पछिल्ला दिनमा सरकारले नव कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरूका तथ्यांक सार्वजनिक गर्ने क्रममा वास्तविक विवरण लुकाएको आरोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिभिजनमार्फत नियमित भर्चुअल विवरण सार्वजनिक गर्ने क्रममा संक्रमितहरूको संख्या कम देखाउन थालेपछि विज्ञहरूले यो आशंका गरेका हुन् ।

‘नेपाल सुरक्षित छ भन्ने भ्रम फिजाउनका लागि संक्रमितहरूको विवरणका सूचना नियन्त्रित रुपमा सार्वजनिक गरिरहिएको आशंका छ,’ भाइरस (जीवाणु)को जोखिमतासम्बन्धी विषयका अध्येता डा. सुशील ताम्राकारले भने, ‘सरकारले किराना पसलको व्यापारको तथ्यांकजस्तो दैनिक यति सय भन्ने सूचना नियन्त्रित ढंगले प्रवाहित गरिरहेको छ ।’

सरकारले एकैनासको संक्रमित विवरण सार्वजनिक गरिरहेकोले तथ्यांक लुकाएको आशंका बढेको हो । ‘संक्रमण कहिल्यै स्थिर रहँदैन, कि बढ्दै जाने हुन्छ कि घट्दै जान्छ,’ डा. ताम्राकारले भने, ‘संक्रमण नियन्त्रण हुन नसेको अवस्थामा थोरै भए नि बढ्दो क्रममा हुन्छ भने नियन्त्रण हुने क्रममा क्रमशः घट्दै जाने हुन्छ । संक्रमणको उच्चतम बिन्दूमा पुगेको बेला केही दिन र न्युनतम बिन्दूमा पुगेको बेला भने केही दिन स्थिर रहन सक्छ तर एकैनासको अवस्था १५-२० दिनसम्म रहन सक्दैन, जबसम्म तथ्यांकलाई मिथ्यांक बनाइदैन ।’

तर, सरकारले सार्वजनिक गर्ने गरेको सूचनामा भने औसत ४-५ सयका स्थिर विवरण राख्ने गरिएको छ । ‘यसले के देखाउँछ भने आजलाई ५ सय भनियो, भोलि फेरि ४ सय भनौंला भनेर सूचना नियन्त्रित ढंगले प्रवाहित गरिएको देखिन्छ, जबकी हजारौं स्वाब परीक्षणको पर्खाइमा छ ।’

जनस्वास्थ्यविद् डा. समीरमणी दीक्षित पनि सरकारले परीक्षण कम गर्दै जाँदा संक्रमितका संख्या कम देखिएको बताउँछन् । ‘सरकारको परीक्षणका दायरा निकै कम देखिँदै आएको छ, भारतबाट आउनेहरूलाई मात्र बढी लक्षित गरेर परीक्षण गरियो, अहिले त्यताबाट आउनेहरूका संख्या कम हुनेवित्तीकै परीक्षण पनि कम गरिएको छ, संक्रमितका नतिजा पनि कम देखिएको हो,’ डा. दीक्षितले भने ।

पछिल्ला केही परीक्षणहरूले काठमाडौं उपत्यकामा संक्रमितहरूको संख्या जुन ढंगले बढेको छ, त्यसअनुपातका ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर दैनिक १० देखि १५ हजारका हाराहारीमा परीक्षण हुनुपर्नेमा यसमा सरकारको आश्चर्यलाग्दो चासोहीनता देखिएको छ ।

‘काठमाडौं उपत्यकामा मानिसहरू फर्कने क्रम र चहलपहल जुन तरिकाले बढेको छ, त्यसका अनुपातमा परीक्षण भएकै छैन, यसले संक्रमण समुदाय स्तरमा फैलने त्रास बढेको छ,’ डा. दीक्षितले भने,‘नेपालमा अहिलेसम्म माइल्ड किसिमको मात्र भाइरसको संक्रमण देखिएको छ, तर अवस्था भने संवेदनशील छ ।’

भाइरस संक्रमण मामिलाकै विषयका अध्येता डा. ताम्राकार भने काठमाडौं उपत्यकामा समुदायस्तरमै संक्रमण फैलिइसकेको संकेत देखिएको बताउँछन् । ‘हालै गरिएको उपत्यकाका ४ स्थानका ढलको नमुना परीक्षण गर्दा दुई स्थानका ढलमा कोरोना जीवाणु  देखिनु भनेको समुदायमा संक्रमण फैलिइसकेको संकेत हो,’ डा. ताम्राकार भन्छन्, ‘एक-दुई जना व्यक्तिमा संक्रमण हुँदा त्यसरी ढलमै जीवाणुका अवशेष देखिँदैन । नेपालमा देखिएको कोरोना जीवाणु माइल्ड प्रकार भएकाले सतहमा नदेखिएको हो, परीक्षणको दायरा बढाए त्यो पनि प्रकाशमा आउने हुन्छ ।’

सरकारले नियमित भर्चुअल कार्यक्रमबाट कुन जिल्लाका कति संक्रमित भन्ने साधारण जानकारी दिए पनि न कोभिड सूचनासम्बन्धि आधिकारिक वेबसाइटमा, न त स्थितिपत्रमा वा भाइबर सूचना, एपमा नै पालिकाअनुसारको वडा, टोलसमेत खुल्ने गरी कुनै विवरण राखिन्छ ।

यसले नागरिकहरूमा आफ्नो वडा, टोल छिमेकमा संक्रमितका अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउनभन्दा सरकारले जिल्लामात्रै भनिदिँदा उल्टै मानसिक त्रास बढाएको विज्ञहरू बताउँछन् ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु