गृहपृष्ठ ‘कोरोना हब’ बन्दै काठमाडौं उपत्यका ! संक्रमितको संख्या ५०६ पुग्यो, ९ को मृत्यु

‘कोरोना हब’ बन्दै काठमाडौं उपत्यका ! संक्रमितको संख्या ५०६ पुग्यो, ९ को मृत्यु

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । गएको २४ घण्टाभित्र उपत्यकाभित्र ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंमा ४८ जना, भक्तपुरमा १ जना र ललितपुरमा ४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५ सय ६ पुगेको छ । सोमबारसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या चार सय ५३ रहेको थियो भने २ सय ४१ जना डिस्चार्ज भएका थिए । दुई सय ३ जना उपचाररत थिए ।

मंगलबारको तथ्यांकबाहेक हाल काठमाडौंमा एक सय ५५ पुरुष र १७ महिला, भक्तपुरमा ६ पुरुष र तीन महिला र ललितपुरमा १५ पुरुष र ७ महिला संक्रमित उपचार गराइरहेका छन् । यसैगरी काठमाडौंमा ८३ पुरुष र ५१ महिला, भक्तपुरमा २१ पुरुष र २२ महिला तथा ललितपुरमा ३४ पुरुष र ३० महिला संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा हालसम्म ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा पाँच पुरुष र एक महिला र ललितपुरमा ३ जना पुरुष संक्रमितको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

देशभरमा भने कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ३११ जनामा संक्रमण थपिएपछि कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यस अवधिमा थप एक जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । त्यस्तै कोरोना जितेर घर फर्किनेको संख्या पनि १३ हजार ८७५ पुगेको छ । मंगलवार मात्रै देशभर १२१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म तीन लाख ५२ हजार ३०७ जनाको पीसीआर परीक्षण गरिएको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु