गृहपृष्ठ काठमाडौँमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो, एकैदिन १३४ जनामा संक्रमण पुष्टि

काठमाडौँमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो, एकैदिन १३४ जनामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा आज थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १ सय १०, ललितपुरका १४ र भक्तपुरका १० जना रहेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ सय ४४ पुगेको छ ।

लकडाउन अन्त्य भएसँगै काठमाडौँलगायत देशैभर संक्रमण दर ह्वात्तै बढेको छ । संक्रमित थपिएसँगै काठमाडौँमा जोखिम बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार काठमाडौँमा ३६, भक्तपुरमा ४ र ललितपु्रमा ४ गरी उपत्यकाभित्र ४४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसअघि उपत्यकामा ९२ जना संक्रमित भेटिएका थिए । आइतबार थपिएका संक्रमितहरु काठमाडौंका ९० र ललितपरका २ जना हुन् ।

त्यसअघि साउन २४ मा उपत्यकाभर ५६ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस दिन काठमाडौंमा ५०, भक्तपुरमा ३ र ललितपुरमा ३ जनालाई संक्रमण पुष्टि भएको हो ।

साउन २३ मा काठमाडौँमा १०६ संक्रमित थपिएका थिए । यसमा काठमाडौंमा ८८, भक्तपुरमा ८ र ललितपुरमा १० छन् । साउन २१ मा काठमाडौंमा ६२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा ललितपुरमा ५, काठमाडौंमा ५७ छन् । २० साउनमा काठमाडौँमा ६२ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म उपत्यकाभित्र सबैभन्दा बढी संक्रमित काठमाडौँका रहेका छन् । काठमाडौँमा एक हजार ५८ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरी ललितपुरमा एक सय ८७ र भक्तपुरमा ९९ जना संक्रमित भेटिएका छन् ।

देशभर आज थप ६३८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । हालसम्म १६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा ८३ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेको मंगलबारको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु