गृहपृष्ठ ‘संघीयताको अर्थराजनीति’ पुस्तक बजारमा
‘संघीयताको अर्थराजनीति’ पुस्तक बजारमा
स्थानीय विकास तथा संघीयता विज्ञ विनोद न्यौपानेद्वारा लिखित पुस्तक ‘संघीयताको अर्थराजनीति’ बजारमा आएको छ । पुस्तकमा विकेन्द्रीकरण, संघीयता, अन्तरसरकारी सम्बन्ध र अहिलेको राजनीतिक आर्थिक वहाबका साथै ऐतिहासिक, आर्थिक, सामाजिक रुपान्तरमा भइरहेका अनुसन्धान र विश्वव्यापीकरणको वहाबमा संघीयता शासन व्यवस्थालगायतका विविध आयाम समेटिएका छन् ।
त्यस्तै विश्वमा चलिरहेका संघीयताका मोडललाई अर्थराजनीतिक ढाँचाबाट विवेचना गर्दै नेपालको संघीयताका ‘सबल-कमजोर’ पक्ष ‘चुनौती र अवसर’का बारेमा धरातलीय यथार्थता र आर्थिक-राजनीतिक सामर्थ्यका आधारमा विश्लेषण गरिएको छ । पुस्तक किन लेख्नुपर्यो भन्ने सन्दर्भमा लेखक भन्छन्- ‘यो पुस्तक लेख्नुको एउटामात्र उद्देश्य नेपालका राजनीतिक दलका नेता-कार्यकर्ता, जनप्रतिनिधि, सरकारी कर्मचारी, दातृनिकायका कारिन्दा र संघीयताको कार्यान्वयनका सवालमा विभिन्न क्षेत्र र निकायसँग जोडिएर काम गरिरहेकाहरुलाई संघीयताको अर्थराजनीतिबारे ‘साक्षर’ मात्र पार्न खोजेको हुँ, संघीयताको बारेमा साँवा अक्षर चिनेपछि बाँकी खोजीनीति गर्ने इच्छा र विवेक सम्बन्धित संस्था र व्यक्तिमा आइदिए मेरो उद्देश्य पूरा भएको मान्नेछु ।’
पुस्तकका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टिप्पणी यस्तो छ‑ पुस्तकमा संघीयताको पाटो देखाउँदै हिजो र आजको भूगोल, सामाजिक चेतना, जनसंख्याको बनोट, स्रोत-साधन र बसाइँ-सराइको प्रवृत्ति आदिलाई जातजातिभित्र छिरी मोही पारेर नौनी निकालेझैं मिहिन विश्लेषणका साथै (संघीयताको) अब अगाडि जाने बाटो प्रस्ट देखाइएको छ ।
सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक ५०८ पृष्ठको छ । पुस्तकको मूल्य ७९५ रुपैयाँ छ ।
प्रकाशित समय २०:१७ बजे

















