गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, लगातार दुईदिन १२ जनाको मृत्यु
कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, लगातार दुईदिन १२ जनाको मृत्यु
फाइल तस्बिर ।
नेपालका कोरोनाभाइरस (कोभिड- १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र ९ पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।
पछिल्लो मृतक संख्यामध्ये उपत्यकाका तीन जिल्लाका मात्र ६ जना रहेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै पर्साका २, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक/एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७ पुगेको छ ।
भदौ सुरु भएयता १३ दिनमा कोरोनाबाट ९३ जनाले ज्यान गुमाइसकेका छन् । बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । शुक्रबार १२ जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा देशभर २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरेर ८ सय ८४ जना संक्रमित थपिएका छन् । उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५ सय ५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना रहेका छन् । हाल देशभर ८ हजार ३५ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १८:०० बजे

















