गृहपृष्ठ कोरोनाबाट यो साता विदेशमा ३ नेपालीले ज्यान गुमाए
कोरोनाबाट यो साता विदेशमा ३ नेपालीले ज्यान गुमाए
हालसम्म १७ देशमा १९५ जनाको निधन
विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता बेलायतमा १ र युएईमा २ गरी थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म १६ देशमा १ सय ९५ जना नेपालीहरुको निधन भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार, साउदीअरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोरोना संक्रमणको दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोनाभाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
संक्रमणको जोखिम कम नभएकाले सावधानी अपनाउन आग्रह
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सीमित संख्या र सामाजिक दुरी कायम गर्न आग्रह गरे ।
डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्नसमेत आग्रह गरेका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गरेका हुन् । आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा. सापकोटाको भनाइ छ ।
मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे । ‘कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे ।
५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार
विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार भएको छ । गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।
प्रकाशित समय १२:५१ बजे

















