गृहपृष्ठ उपसभामुख राधिका तामाङका आमाछोरा नै कोरोना संक्रमणमुक्त

उपसभामुख राधिका तामाङका आमाछोरा नै कोरोना संक्रमणमुक्त

कोरोना संक्रमण पुष्टि भएपछि १४ दिनदेखि होम आइसोलेसनमा रहेका बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएकी हुन् ।

उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् । ‘राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ । मेरा लागि कोरोना आतंकबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो । यहाँहरुको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहनेछु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विशेषगरी आफैँलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकीय सचिवालय र परिवारका सदस्य सबैप्रति कृतज्ञ छु,’ उनले भनेकी छन् ।

तामाङले कोरोनाभाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको बताइन् । संक्रमण भइहालेमा आतंकित नभई स्वास्थ्यसम्बन्धी आवश्यक  विधिहरु अवलम्बन गर्नुपर्ने उनले बताइन् । ‘मुख्यगरी कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने हो, सामाजिक रूपमा दूरी बढाउने वा तिरष्कृत गर्नेभन्दा पनि सामाजिक सद्भाव बढाउन आवश्यक ठान्छु,’ उपसभामुख तामाङले भनेकी छन् । उपसभामुख तामाङ र उनको छोरा कोरोना संक्रमण पुष्टि भएपछि १४ दिनदेखि हेटौँडास्थित निवासमा आइसोलेसनमा थिए । (रासस)

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु