गृहपृष्ठ देशभर ९७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ हजार नाघ्यो
देशभर ९७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ हजार नाघ्यो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४७ हजार नाघेको छ । विभिन्न जिल्लामा पछिल्लो २४ घन्टाभित्र ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरूष गरी देशभर कुल ९ सय ८० जना कोरोना संक्रमित थपिएका थिए ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको जानकारी दिए । यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १ सय ९० रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । अहिलेसम्म ३० हजार ६ सय ७७ जना कोरोनामुकत भएका छन् । क्वारेन्टाइनमा ४ हजार ७३९ जना छन् । हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ ।
कोरोनाबाट गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३ सय पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रकाशित समय १६:२७ बजे

















