गृहपृष्ठ थप १,३५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज
थप १,३५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज
काठमाडौं उपत्यकामा ८१७ जना संक्रमित थपिए
गत २४ घण्टामा देशभर १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशभर संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् ।
उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको प्रवक्ता गौतमले बताए ।
थप ४ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको ज्यान गएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सुनसरीमा ३८ वर्षीया महिला र भक्तपुरमा ५१ वर्षीया महिलाको ज्यान गएको छ । त्यस्तै गुल्मीमा ३४ वर्षीय पुरुष र बाँकेमा ४७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको हो । हालसम्म नेपालमा काेराेनाका कारण ४८१ जनाको ज्यान गइसकेकाे छ ।
काठमाडौं उपत्यकामा ८१७ जना थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी ५१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:३० बजे

















