गृहपृष्ठ काठमाडौंमा करिब १० हजार संक्रमित, १५ नम्बर वडा सबैभन्दा बढी प्रभावित

काठमाडौंमा करिब १० हजार संक्रमित, १५ नम्बर वडा सबैभन्दा बढी प्रभावित

फाइल तस्बिर ।

काठमाडौँ महानगरपालिकामा कोरोनाभाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट संक्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ संक्रमित भएका छन् ।

त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी संक्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको संख्या दुई हजार ९९० रहेको छ । अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको महानगरको भनाइ छ । प्रमुख कुँवरका अनुसार संक्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।

सरकारले भनेअनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति-व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० आइसीयू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु