गृहपृष्ठ भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ । एकैदिनमा संक्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिन अघिसम्म दैनिक झण्डै एक लाख मानिस संक्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ ।
सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७९ हजार ४७६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये ५४ लाख २७ हजार ७०७ जना संक्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा सवैभन्दा धेरै संक्रमितहरु महाराष्ट्र प्रदेशमा रहेका छन् भने त्यसपछि क्रमशः कर्नाटक, केरला, आन्ध्रप्रदेशमा धेरै संक्रमितहरु रहेका छन् ।
भारतमा अहिलेसम्म सात करोड ७८ लाख ५० हजार ४०३ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये शुक्रबार मात्रै ११ लाख ३२ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।
प्रकाशित समय १८:३४ बजे

















