गृहपृष्ठ कोभिड-१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

कोभिड-१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

फाइल तस्बिर ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण (कोभिड-१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई/दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक/एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या बढ्दै गएको बताए ।

‘अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ,’ उनले भने, ‘कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।’ शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ४४३ संक्रमित निको भएर घर फर्किएका छन् । बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ । ‘प्रयोगशाला बढाएर संक्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौँ,’ उनले भने ।

स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ। अछाम र कञ्चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताए । हाल सुदूरपश्चिममा एक संक्रमितको अति सघन कक्षमा तथा दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका संक्रमित बढी छन् । (रासस)

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु