गृहपृष्ठ बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए ।

बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले शुरुमा भने जस्तो मूल्य पाउँदा खेतीयोग्य जमीनमा समेत अलैँची खेती विस्तार भइरहेको छ । अहिले अधिकांश किसानले गत वर्ष उत्पादितक अलँैचीसमेत बिक्री नहुँदा गोदाममै राखेका छन् ।

सात वर्षअघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोकाले आफ्नो चार रोपनी जग्गामा अलैँची खेती विस्तार गर्दा सुकेको अलैँची प्रतिकिलो रु दुई हजार पाँच सयमा घरबाटै बिक्री भइरहेको थियो । अलैँचीको मूल्य देखेर रोकाले धमाधम खेती विस्तार गरी २० रोपनी पुर्‍याएका छन् । अहिले भने उत्पादन भएका समयमा अलैँचीको मूल्य नपाउँदा रोका मात्रै हैन, अधिकांश किसान चिन्तित छन् ।

रोकाले पोहोर उत्पादन गरेको दुई क्विन्टल सुकेको अलैँची समेत गोदाममै छ । पोहोर अत्यधिक हिउँ परेका कारण अलैँची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो उत्पादन भएको छ । अहिले पोहोरभन्दा ७५ प्रतिशतले उत्पादनमा वृद्धि भए पनि मूल्य कम पर्ने चिन्ता रोकालाई छ । उहाँले पोहोर र अहिले गरेर सात क्विन्टल अलैँची बेच्ने भए पनि हालसम्म गोदाममै थन्किएको बताए । उनका अनुसार प्रतिकिलो ६ सय रूपैयाँमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ।

ताराखोला–२ अर्गलका करीब ४० कृषक अहिले अलैँची टिप्न व्यस्त छन् । गत वर्षका तुलनामा अलैँची उत्पादन ७५ प्रतिशतले वृद्धि भए पछि कृषकलाई उत्पादन गर्न भ्याई नभ्याई छ । गत वर्ष अलैँचीसमेत बिक्री नभएका कारण बजारीकरणका कुरामा उनीहरुको मनमा चिसो पसिरहेकै छ । ‘सुरुमा दुई हजार पाँच सय रूपैयाँमा ताराखोलाबाटै बिक्री भएको अलैँची अहिले प्रतिकेजी ६ सय रूपैयाँमा बिक्री हुनसमेत समस्या छ,’ कृषक रोकाले भने, ‘पोहोरको डेढ क्विन्टल अलैँची गोदाममा थन्किएको छ, अहिलेको बिक्री हुन के गर्ने हो ?’

यस्तै अर्गलकै किसान खड्कबहादुर घर्तीसहित तीन जना मिलेर धान फल्ने खेतमा अलैँची खेती विस्तार गर्नुभएको थियो । उनले पनि पोहोरको अलैँचीसमेत बिक्री नभएको गुनासो गरे । १३ रोपनी जग्गा भाडामा लिएर अलैँची खेती विस्तार गरिए पनि अहिले मूल्य नपाउँदा समस्या भएको घर्तीको गुनासो छ । सोही स्थानका अम्मर थापाले लगाउनुभएको आठ रोपनी क्षेत्रफलको अलैँची पोहोरदेखि गोदाममै थन्किएको छ । उनले युरोपका विभिन्न देशमा नेपालको सुकेको अलैँची प्रतिकेजी तीन हजार ६ सय रूपैयाँमा बिक्री भए पनि किसानले जम्मा ६ सय रूपैयाँ पाएको बताए । ‘दुःख नेपाली किसानले गर्ने, नेपालको अलैँचीको ट्रेडमार्क नहुँदा नाफा जति भारतले लगेको छ,’ घर्तीले भने, ‘नेपालले नै विश्वबजारमा अलैँची पठाउन नसक्ने हो भने नेपालका किसान निरुत्साहित हुनेछन् ।’

६ सय रूपैयाँमा नेपालीबाट किनेको अलैँची भारतले नेपालको झापा स्थित बिर्तामोडमा संकलन गरी प्रशोधनपछि तेस्रो मुलुकमा चर्को मूल्यमा पठाउँदै आएको छ । नेपालले सीधै तेस्रो मुलुकमा अलैँची उत्पादन गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्ने अवस्था आउने छ । ताराखोला–२ अर्गलमा मात्रै ४० भन्दा बढी कृषकले चार सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । गलकोट, जैमिनीलगायत क्षेत्रमा समेत अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ । बागलुङका अलैँची किसान शुरुमा यथोचित दाम पाए पनि वर्षेनी मूल्य घट्दै गएका कारण पोहोर सुकाएको अलैँचीसमेत गोदाममै रहेको गुनासो गर्छन् ।

गलकोट नगरपालिका–१ दुदिलाभाटीका कृषक सम्मरबहादुर खड्काले ६ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । उनले बसाइँसराइका कारण जग्गा बाँझो हुन थालेपछि अलैँची खेती विस्तार गरिएको बताए । उनी सोचे जस्तो अलैँचीको मूल्य नपाउँदा भने समस्या भएको बताउँछन् । जैमिनी नगरपालिका–२ दमेकका किसान बलिभद्र सापकोटाले पनि अलैँची उत्पादनबाट भने जस्तो मूल्य नपाउँदा दुःख खेर जान थालेको गुनासो गरे । सापकोटाले भारतबाट आएका बिचौलियाले सस्तो मूल्यमा अलैँची खरीद गरी तेब्बर नाफा कमाउँदा नेपाली किसान समस्यामा परेको बताए । बागलुङमा पछिल्लो एक दशकयता अलैँचीको व्यावसायिक उत्पादन सुरु भएको हो ।

अलैँचीबाट मसला, तेल, मदिराको स्वाद बढाउने तत्वलगायत अमूल्य पदार्थ उत्पादन हुने गर्छन् । यसमा औषधीय गुणसमेत रहेको कृषकले बताउँदै आएका छन् । पोहोर अलँैचीको भाउ खोज्दाखोज्दै बन्दाबन्दीमा परेका कृषकले यस वर्ष सस्तो मूल्यमा भए पनि बिक्री गर्ने लक्ष्य राखेका छन् ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु