गृहपृष्ठ पोखरी बनाएर पनि पानी नभर्दा हजारौँ हेक्टर खेतीयोग्य जमिन सात महिना बाँझै
पोखरी बनाएर पनि पानी नभर्दा हजारौँ हेक्टर खेतीयोग्य जमिन सात महिना बाँझै
सांकेतिक तस्बिर
सिँचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा डडेल्धुराको नानीभटगाउँका कृषकले समस्या भएको बताएका छन् । अमरगढी नगरपालिका ७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली र तरकारीखेती गर्न समस्या भएको स्थानीयबासी शेर कैनीले बताए ।
पोखरी निर्माण गर्दा खुसी भएका किसानले अकासे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् । बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनी बताउँछन् । सिँचाइ कार्यालय डडेल्धुराको तीन लाख रुपैयाँ लागतमा सम्पन्न भएको पोखरी स्थानीयवासीको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीय गगन भण्डारीले खुलासा गरे । उनले भने, ‘यस क्षेत्रका करिब १० गाउँमा सिँचाइ गर्ने योजनाअनुसार निर्माण भएको थियो तर पोखरा बजार क्षेत्र शेराखेतका बासिन्दाको विरोधका कारण योजनाले पूर्णता नपाएको हो ।’
पोखरी निर्माण गरिए पनि मुहानबाट पाइप विस्तार हुन नसक्दा पानी पु-याउन नसकिएको स्थानीयवासी दत्तराज जैसी बताउँछन् । पोखरीमा पानी राख्न सके भट्गाउँ, ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनि गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गरी खेतीपाती लगाउन सकिने जैसीको भनाइ छ । उनले भने, ‘पोखरा बजारबासीले पाइप लाइन विस्तार गर्न नदिँदा सिँचाइ गर्न समस्या भएको छ ।’
सिँचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन् । ‘वर्षामा ढिलोचाँडो पानी पर्छ, धान राम्रै फल्छ तर हिँउदमा अकासे पानीको भर हुँदैन,’ स्थानीय मान भण्डारीले भने, ‘सिँचाइ अभावमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै खर्च उठाउन नसकेपछि धानबालीमात्रै लगाउने गरेका छौँ ।’
किसानको सयौँ हेक्टर जमिन सिँचाइ अभावकै कारण वर्षमा सात महिना बाँझो रहन्छ । तीन बाली उब्जनी हुने जमिनमा सिँचाइ नहुँदा उनीहरूले धानमात्रै लगाउने गरेका छन् । तर, समस्या समाधानका लागि नगरपालिकाबाट पनि कुनै पहल भएको छैन ।
वडा कार्यालयका अनुसार यो योजना करिब ७२ लाख रुपैयाँको हो । तर, स्थानीयको विवादका कारण तीन लाखमा पोखरी बनाइनसक्दै बाँकी रकम सिँचाइ कार्यालयले फिर्ता लगेको वडा नम्बर ७ का अध्यक्ष खडकबहादुर बोहरा बताउँछन् । ‘मैले २०७४ सालमा निर्वाचित भएर आएपछि रकम फिर्ता जान नदिन ठूलै मेहनत गरेँ तर सकिन,’ न्युज कारोबारसँग टेलिफोनमा उनले भने, ‘त्यो पोखरी पनि बिना कुनै अध्ययन बनाएको जस्तो लाग्छ, पानीको मुहान नै यकिन नगरी पोखरी बनाएको देखिन्छ ।’ (रासस)
प्रकाशित समय १२:५३ बजे

















