गृहपृष्ठ भक्तपुरमा होम आइसोलेसनमा ६ जनाको मृत्यु
भक्तपुरमा होम आइसोलेसनमा ६ जनाको मृत्यु
भक्तपुरको हालसम्म कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका ६ जनाको मृत्यु भएको छ । शुक्रबार सूर्यविनायक नगरपालिका ५ कटुञ्जे बस्ने ७७ वर्षीया कोरोनाभाइरस संक्रमित वृद्धाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पीसीआर परीक्षण गर्दा आठ दिनअघि कोरोना संक्रमण पुष्टि भएकोमा आज बिहान ती होम आइसोलेशनमै मृत्यु भएको छ । यससँगै भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् । भक्तपुर नगरपालिका १ चुनदेवी बस्ने पुरुषमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले बताए । (रासस)
प्रकाशित समय १९:०४ बजे

















