गृहपृष्ठ गण्डकी र सुदूरपश्चिममा प्रदेशमा १७३ संक्रमित थपिए

गण्डकी र सुदूरपश्चिममा प्रदेशमा १७३ संक्रमित थपिए

गण्डकी प्रदेशमा शनिबार १०९ कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या १४१ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म छ हजार २१४ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ५८१ पुगेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा शनिबार कोरोना भाइरसका शंकास्पद ५२५ व्यक्तिको नमूना परीक्षण गरिएकामा ६४ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ थपिने कोरोना संक्रमितमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र बाजुराका छन् । नयाँ थपिएका समेत गरी आजसम्म प्रदेशमा १० हजार ७३१ संक्रमित पुगेका छन् ।

पछिल्ला दिनमा प्रदेशमा कोरोना भाइरसबाट हुने मृत्युदर बढ्दै गएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कात्तिक २९ गते यता थप सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आजसम्म कैलालीमा १९, कञ्चनपुरमा चार, बझाङमा तीन, अछाम, बाजुरा, डडेलधुरा, दार्चुलामा दुई/दुई तथा डोटी र बैतडीमा एक÷एकसमेत जम्मा ३६ जनाको मृत्यु भएको छ ।

शुक्रबार मात्रै कैलालीका एक ५६ वर्षीय पुरुष र एक ७५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचारकक्ष (आइसीयू) मा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा कोरोना भाइरसको उपचार व्यवस्थापनपछि अहिलेसम्म आठ हजार ८७५ डिस्चार्ज भएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु