गृहपृष्ठ कोरोना परीक्षण झन् सुस्तायो
कोरोना परीक्षण झन् सुस्तायो
कर्णाली प्रदेशमा कोरोना परीक्षण सुस्ताउँदै गएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने भए पनि परीक्षण भने घट्दै गएको छ ।
प्रदेशमा माघ ७ गतेसम्म ९६ हजार ७८८ जनाको कोरोना परीक्षण भएको छ । त्यसमध्ये सात हजार ४६७ जना कोरोना संक्रमित फेला परेका छन् भने २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म प्रदेशमा सात हजार २२९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रदेश स्वास्थ्य महाशाखाले दिएको तथ्यांकअनुसार माघमा ७ गतेसम्ममा दुई सय जनाको मात्रै परीक्षण भएको छ । माघ १ गते ४३, ३ गते २१, ५ गते ८० जना, ६ गते २७ र ७ गते २९ जनाको परीक्षण गरिएको हो । माघ २ र ४ गते प्रदेशभर कुनै परीक्षण भएन ।
कोरोना संक्रमण महामारीको सुरुवातमा महिनामा हजारौँ परीक्षण हुनेको गरेको थियो । देशभर पूर्णरुपमा लकडाउन खुलेपछि भने परीक्षणको दायरा पनि साँघुरो बनाउँदै लगिएको छ ।
महाशाखाका अनुसार जेठमा १५ हजार ६७०, असारमा १९ हजार ४९४, साउनमा १२ हजार २४६, भदौमा २१ हजार ४०१, असोजमा १४ हजार २५५, कात्तिकमा सात हजार ७३५, मंसिरमा तीन हजार ७१४ र पुसमा दुई हजार ७३ जनाको परीक्षण भएको छ ।
प्रदेशमा अहिले सुर्खेत, जुम्ला, दैलेख र रुकुम पश्चिममा कोरोना परीक्षण गर्ने गरिएको छ । यी प्रयोगशालामा पहिले दैनिक औसत एक हजार परीक्षण हुने गरे पनि अहिले दैनिक एक सय पनि हुन सकेको छैन । महाशाखा प्रमुख बृषबहादुर शाहीले अहिले लक्षण देखिएकाहरुको मात्र परीक्षण गरिने भएकाले कमी आएको बताए । उनले भने, ‘अहिले शंका लागेपछि मात्रै परीक्षण गर्ने गरिएको छ । कन्ट्याक ट्रेसिङ पनि शंका लागेपछि मात्रै हुने गरेको छ । यसैले कमी आएको हो ।’
प्रकाशित समय १५:३५ बजे

















