गृहपृष्ठ आजदेखि कोरोना खोप प्रदेशमा पठाइँदै, ३ सय अस्पताललाई खोप केन्द्र बनाइने
आजदेखि कोरोना खोप प्रदेशमा पठाइँदै, ३ सय अस्पताललाई खोप केन्द्र बनाइने
भ्याक्सिन हस्तान्तरण कार्यक्रम । (फाइल तस्बिर)
कोभिड- १९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रवक्ता गौतमका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । उनले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।
उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड- १९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड- १९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।
भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । सरकारको कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड- १९ विरुद्ध खोप लगाउने योजना रहेको छ ।
पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकारसरकार (जीटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।
अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक-भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड-१९ विरुद्ध प्रयोग भइरहेका छन् । (रासस)
प्रकाशित समय १५:२० बजे

















