गृहपृष्ठ अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप : दक्षिण अफ्रिकाद्वारा खोप लगाउने कार्यक्रम स्थगित

अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप : दक्षिण अफ्रिकाद्वारा खोप लगाउने कार्यक्रम स्थगित

दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ । एउटा अध्ययनले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा ‘निरासाजनक’ देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकाको सरकारले रोकेको हो ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ संक्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ । अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड-१९ का हल्का तथा मध्यम खालका बिरामीलाई ‘नगन्य सुरक्षा’ दिएको करिब दुई हजार मानिस सामेल अध्ययनले देखाएको हो ।

दक्षिण अफ्रिकाले अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको छ र आगामी सातादेखि उसले खोप लगाउन सुरू गर्ने कार्यक्रम थियो । अनलाइनमार्फत्‌ एउटा कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताए ।

‘दुर्भाग्यवश अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले हल्का तथा मध्यम खाले बिमारीमा काम नगर्ने रहेछ,’ अध्ययनको नेतृत्व गरेका प्राध्यापक शाबिर माधीले भने । उक्त अध्ययनले भने अझ गम्भीर संक्रमणलाई अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्ने विषय नहेरेको उनले बताए ।

अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेको छ । त्यसकारण गम्भीर लक्षणको जोखिममा रहेको जनसंख्यालाई त्यसले प्रतिनिधित्व गर्दैन । अक्सफोर्डकी अग्रणी खोप विकासकर्ता प्राध्यापक सराह गिल्बर्टले अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिएकी छन् ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु