गृहपृष्ठ घाटको माझी भएँ, यत्तिकै सकिँए जस्तो कहिल्यै लागेन : अर्याल

घाटको माझी भएँ, यत्तिकै सकिँए जस्तो कहिल्यै लागेन : अर्याल

अन्धविश्वास अन्त्य भइसक्यो त भन्दिन तर ७५ प्रतिशत हल भइसकेको छ

मकवानपुरको थाहा नगरपालिका- ७ स्थित सरस्वती माध्यमिक विद्यालयमा २० वर्षदेखि अध्यापनरत विनोद अर्याल सहायक प्रधानाध्यापकको जिम्मेवारीमा छन् । शिक्षक भएकोमा गर्व गर्ने अर्याल समाजलाई समयानुकूल गतिशील बनाउन शिक्षकले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जाेड दिन्छन् । समाजको रुपान्तरण, चेतना अभिवृद्धि र अभिभावकलाई सामाजिक कार्यमा अग्रसर गराउन उनको क्रियाशीलता रहँदै आएको छ । अध्यापन गरेको दुई दशकको अवधिमा समाजले निक्कै ठूलो फड्को मारिसकेको छ । आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिमा शिक्षकले अहं भूमिका खेल्न सक्नुपर्नेमा उनको जोड छ । शिक्षालाई आधुनिक विश्व परिवेश सुहाउँदो प्रविधियुक्त बनाउनुपर्छ भनेर लागिपरेका अर्यालसँग समाज रुपान्तरणमा शिक्षा र शिक्षकको भूमिकाका विषयमा केन्द्रित रही न्युज कारोबारकर्मी रघुनाथ बजगाँईले गरेको कुराकानी :

 

शिक्षण पेशा अँगाल्नुभएको छ, कस्तो लागेको छ ?

– मलाई शिक्षक हुँ भन्दा गर्व छ । विद्यालय जीवनमा मेरो लक्ष्य शिक्षक बन्ने थिएन, तैपनि यो क्षेत्रमा प्रवेश गरेँ । यसबाट म पूर्ण सन्तुष्ट छु । दुई दशकसम्म एउटै विद्यालय (सरस्वती माध्यमिक विद्यालय) मा अध्यापन गरिरहेको छु । यसमा मेरो सन्तुष्टी नै सबैभन्दा मुख्य कुरा हो । यो क्षेत्र जनता र समाजसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने क्षेत्र हो । मलाई व्यक्तिगत रुपमा पनि समाजसँग घुलमिल हुदा रमाइलो लाग्छ । अझै पनि ग्रामिण भेगका विकट क्षेत्रका विद्यालयहरु, समुदायमा कूरीति, कूसंस्कार, अन्धविश्वासहरु छन् । यसको निराकरण गर्ने, कम गर्ने जिम्मेवारीबोध हुन्छ ।

शिक्षकले समाजलाई सही दिशा दिन्छ भन्ने आम बुझाइका बीच अहिले यसमा ह्रास आएको देखिन्छ । समाज रुपान्तरका लागि योगदान के-के गर्नुभयो अहिलेसम्म ?

– मैले २०५६ सालमा तत्कालिन आग्रा गाउँ विकास समिति (हालको थाहा नगपालिका)मा रहेको सरस्वती माविमा अध्यापन सुरु गर्दा तल्लो भनिएका जातका भनिएका विद्यार्थीले छोएका पानी माथिल्ला भनिएका जातका विद्यार्थीले पिउँदैनथे । विद्यार्थी विद्यार्थीबीच यस्तो वातावरण थियो । सबैभन्दा पहिले मैले कथित तल्लो जातका विद्यार्थी भनिएकाहरुको हातबाट पानी पिएर छुवाछुत अन्त्यको सुरुवात गरेँ । आज भन्दा करिब २० बर्ष अगाडि मैले यो कार्य गरेको हो । अहिले मेरो विद्यालयमा कथित तल्लो जातका भनिएका करिब दुई दर्जन दलित विद्यार्थीहरु छन् । उनीहरु अन्य चार सय विद्यार्थीहरुसँग घुलमिल छन् । छुवाछुत छैन । संगै बसेर खाजा खान्छन्, पानी खान्छन् । यस्ता विषय अरु पनि धेरै छन् । समुदायमा मान्छेहरु बिरामी हुँदा झाँक्री लगाउनी, बोका, कुखुराको बलि दिने जस्ता कूप्रथाहरु समेत पाइन्छ । त्यस्तो अवस्थामा म उनीहरुको घरमै गएर बिरामीलाई स्वास्थ्य चौकी लैजानुस् औषधी खुवानुपर्छ । यसरी यो बोको काट्ने खर्चले उपचार हुन्छ, औषधी गर्नुपर्छ । भनेर बुझाउने गर्दथेँ अझै पनि भन्दै आएको छु । यस्तो अन्धविश्वास शतप्रतिशत अन्त्य भइसक्यो त भन्दिन तर, पनि ७५ प्रतिशत हल भइसकेको छ ।

सुरुमा धेरैले पत्याएनन होला, अलि अलि पढेको सड्या कुरा गर्छ भने होलान् नि ?

– यस्ता लान्छना त कति लाग्छन् कति ! त्यस्तो लान्छनाको पछि कहिल्यै लागिन र लाग्नुपनि हुँदैन । उद्देश्य सहि छ भने लान्छनाले केहि हुँदैन । अगाडि परेर काम गर्दा हरेक क्षेत्रमा यस्ता लान्छना लाग्छन् । त्यस्ता लान्छना लगाउनेहरुलाई तर्कहरु दिएर, प्रमाणहरु ल्याएर बुझाउने कोशिष गर्दथेँ, यो यो कुरिति हो भनेर । अहिले त गाउँमै सानोतिनो स्वास्थ्य उपचार सेवा पाइन्छ । बिरामी हुँदा स्वास्थ्य चौकी जानुपर्छ भन्ने शंदेस फैलाउन पनि मैले प्रतयक्ष अप्रत्यक्ष रुपमा भूमीका निभाएँ ।
मेरो घर विद्यालय नजिकै होईन, त्यसैले विद्यालयमै बस्छु । विद्यालयको काम बाहेक समाजका गतिविधिमा सहभागी हुन्छु । समुदायको हरेक काममा सरिक भएर समुदायमा भिजेर बसेको कारण घर पायकमा सरुवा पाउँदा पनि यो समुदायले नजानुस् भनेकाले गइन । यहि कारण अगाडि तपाइले भनेझैं म सन्तुष्ट हुन सकेको हुँ ।

माझीले खोला तारेझैँ कति विद्यार्थीलाई तारियो, आफ्नो जीवन भने सोचेजस्तो बनाउन सकिएन भन्ने कहिलेकाँही लाग्छ होला नि ?

– पेशाप्रति जो सन्तुष्ट हुन सक्दैन त्यस्ताले सोच्ने विषय हुन् यी । मेरो काम नै माझीको हो त अब यात्री पारी गयो भनेर म पनि सँगै जाउँ त ? यात्री त्यहाँबाट पारी गएर चन्द्रमा पुग्ला तर मेरो काम त डुङ्गा तार्ने हो, अर्को यात्रीलाई वारी लिन आउनुछ र फेरि अर्को यात्रीलाई पारी लैजानु छ । यात्रीलाई मैले पारी नपुर्याइदिए ऊ वारि नै रहेर उसको जीवन त्यतिमै सिमित हुन सक्थ्यो नि । एउटा यात्रीलाई पारी पुर्याएर अर्काे यात्री लिन वारी आउँछु, यो मेरो पेशा हो । वारी पारी गरिरहन्छु यो मेरो दैनिकी हो । आफूले पढाएका विद्यार्थीहरुले उन्नती प्रगति गरेको देखेरे धेरै खुसी लाग्दछ । मलाई म एउटा घाटको माझी भएँ, यत्तिकै सकिँए जस्तो कहिल्यै लागेन र लाग्दैन पनि । जसको काम जे हो त्यहि गर्नुपर्छ । माझीको काम माझी नै गर्ने हो । यात्रीलाई वारी र पारी तार्ने नै हो । यसले त्यो भन्दा अर्को देखेर हुँदैन ।

शिक्षकहरु विभिन्न अधिकारका लागि आन्दोलन गरिरहेका हुन्छन् । यसपटक बजेटमा तलब बढेन भनेर असन्तुष्टि सुनिन्छ । तपाईंको कस्तो अनुभव छ ?

– अहिलेको एउटा प्रावी तहको शिक्षकको तलब भत्ता गरेर २२/२३ हजार रुपयाँ हुन्छ । २२/२३ हजारले दाल चामल खाएर एक सरो लगाउन पुग्छ । कत्ति कमाई हुन्छ कति खर्च गर्ने भन्ने त आफूमा निर्भर रहन्छ । असन्तुष्टी राखेर यति पुगेन, उती पुगेन भनेर बिहान बेलुका अन्त दौडधुपमा रहेँ भने म विद्यालयमा थकित मनस्थितिमा पुग्छु । जुन मेरो मुख्य काम हो त्यो चाँही ओझेलमा पर्छ जस्तो मलाई लाग्छ । मेरो साईड बिजनेश, कुनै घरयासी काम केहि पनि ध्यान दिइन । मैले गरेको पनि छैन् र म गर्दा पनि गर्दिन । २० वर्ष यत्तिकै बिताँए । अब ५/७ बर्ष शिक्षण गरिएला । यो अवधीमा मैले अरु काम गर्ने सोच बनाएको पनि छैन । पछि छोडेर जिवन धान्न सकिएन भने त्यो पछिको कुरा हो । अहिलेसम्म चलिरहेको छ । यसमा म सन्तुष्ट छु ।

शिक्षण पेशामा पनि नयाँ पुस्ताको माग र आवश्यक्ता महसुस गर्न थलिएको छ, यसले तपाईंहरुलाई अप्ठेरो पार्छ कि ?

– हामीले यसरी अप्ठेरो महसुस गर्नु हुँदैन । शिक्षक भनेको समुदायको माग संबोधन गर्ने व्यक्ति हो । आजको परिवर्तनशील परिवेशमा यो क्षेत्र समेत अछुतो रहन रक्दैन र हुँदैन पनि । अझ शिक्षामा नै प्रवृधिको उच्चतम प्रयोग गरी विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिश्पर्धा गर्न सक्ने बनाउनु पर्दछ । म यो क्षेत्रमा लागेको २० वर्ष भएपनि मैले पुरानो भएको महसुस गरेको छैन । कम्युटर चलाउन सिकेर भाई–बहिनिहरुलाई सिकाउन सक्छु भन्ने आँट लिएर आइसिटिका माध्यमबाट विद्यार्थीलाई शिक्षण गर्नुपर्छ भनेर लागिरहेको छु । अपडेट हुनुपर्छ, समुदायले मागेको चिज दिनुपर्छ, हाम्रा विद्यार्थीहरु भोलि प्रावधिक शिक्षाको कमिले प्रविधियुक्त शिक्षा नपाएकैले विस्थापित हुनुपर्ने अवस्था नआओस । यसका लागि हाम्रो भूमिका समेत आवश्यक पर्दछ ।

पहिलेको पढाउने तरिकालाई समेत नयाँ पाठ्यक्रमले नयाँ चुनौती थपिदिएको होला नि शिक्षकहरुलाई ?

– पाठ्यक्रम परिवर्तन हुँदा केही अप्ठेरो त हुन्छ नै । राज्यले त्यसको लागि पाठ्यक्रम प्रविधिकरण तालिमहरु दिएको छ । हुन त सबै शिक्षकलाई तालिम दिएको हुँदैन । एउटा विद्यालयका एक दुई जनालाई दिने गर्दछ । उहाँले सिकेका कुराहरुलाई विद्यालयमा लागु गराउन प्रयत्न गरिन्छ । अन्य साथीहरुलाई सेयर गर्नुपर्छ । पाठ्यक्रमसँंग परिचित गर्नुपर्छ । अहिले पहिलेजस्तो एउटा किताबको भरमा मात्र पढाउनुपर्छ भन्ने छैन । इन्टरनेट छ, प्रविधिको विकास भएको छ । त्यसबाट हामीलाई सहयोग हुन्छ । मात्र हामी शिक्षक त्यसमा अलिकति लगनशिल बन्नुपर्छ ।

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु