गृहपृष्ठ आईसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश : अप्रेशनपछि उठेर बोल्न सक्ने भएको छु

आईसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश : अप्रेशनपछि उठेर बोल्न सक्ने भएको छु

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार २ मिनेट १३ सेकेण्ड लामो भिडियो सन्देश जारी गर्दै आफु अप्रेसनपछि पनि उठेर बस्न, कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका हुन् । उनको मगलबार एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षमा उपचाररत रहेका ओलीले सन्देशमा आफुले आइतबार १३औँ सागको उद्घाटन कार्यक्रम समेत हेरेको सन्देशमा बताएका छन् ।

भिडियो सन्देश हेर्नुहोस् :

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ यस्तो छ :

एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ- मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

केपी शर्मा ओली
प्रधानमन्त्री

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु