गृहपृष्ठ सीमा नाकामा अलपत्र नेपालीलाई अन्तिमपटक नेपाल प्रवेशको अनुमति

सीमा नाकामा अलपत्र नेपालीलाई अन्तिमपटक नेपाल प्रवेशको अनुमति

१४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सर्त

नाकामा आइपुगेका नेपालीलाई रोक्दै सुरक्षाकर्मी । (फाइल तस्बिर : दिनेश बिष्ट/न्युज कारोबार)

नेपाल-भारत सीमा नाकामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न अन्तिम पटकका लागि माैका दिइएकाे छ। मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले त्यस्ताे निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिए ।

‘पूर्वसूचना नपाएर वा यात्रामै रहेर ढिलाे गरी सीमा क्षेत्रमा आइपुगेका नेपालीहरूका लागि भनेर याे अन्तिम माैका दिइएकाे हाे । कागजात हेरेर नेपाली हुन् भन्ने यकिन भएपछि नेपाल प्रवेश गराइन्छ । तर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु भने पर्छ,’ मन्त्री खतिवडाले भने ।

कैलालीको गाैरीफण्टा नाकामा रोकिएका नेपालीहरू ।

भारतसँगका विभिन्न सीमा नाकामा नेपालीहरू अलपत्र परेको जानकारी स्थानीय प्रशासन र सञ्चार माध्यमबाट आएपछि सोही विषयमा बसेको बैठकले प्रवेश गर्न दिने निर्णय गर्नुपरेको मन्त्री खतिवडाले बताए।

राेजगारी र अध्ययनका लागि भारतका विभिन्न स्थानमा रहेका हजाराैं नेपालीहरू मंगलबार बिहानै पूर्वी नाका काँकडभिट्टा र पश्चिमी नाका गाैरीफण्टा आइपुगेका थिए । नेपाल प्रवेश गर्न सुरक्षाकर्मीले रोकेपछि उनीहरूले ढुंगामुढा गरेका थिए ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु