गृहपृष्ठ मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू-भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज जारी गरेकाे विशेष बुलेटिनमा देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको उल्लेख छ ।
हाल देशको मध्य र पूर्वका अधिकांश भू-भागमा र पश्चिमका केही भू-भाग पूर्ण वदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली रहेको छ । राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा र पूर्वका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ । भोली देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानका साथै पूर्वी भू-भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।
प्रकाशित समय १६:५१ बजे

















