गृहपृष्ठ मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने
अहिलेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई प्रि-मनसुनको समय मानिन्छ । मौसमविदका अनुसार, यो अवधिमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । वर्षा र बदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुले पनि भूमिका खेलेको मौसमविद् शान्ति कँडेलको भनाइ छ ।
तत्काल यी मौसमी प्रणाली हट्ने सम्भावना नरहेकाले अझै कम्तिमा चार दिनसम्म यही अवस्था रहने उनले बताइन् । ‘अझै केही दिनसम्म जारी बदली र वर्षा कायमै रहने सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन् ।
महाशाखाका अनुसार, अप्रिलमा काठमाडौं उपत्यकामा यस वर्ष औसतभन्दा धेरै वर्षा भएको छ । अप्रिलमा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा ९२ मिलिमिटर वर्षा भएको हो ।
प्रकाशित समय १५:१३ बजे

















