गृहपृष्ठ राजु सदाको मृत्युबारे छानविन गर्न गठित संसदीय समितिलाई ५ दिन म्याद थपियो
राजु सदाको मृत्युबारे छानविन गर्न गठित संसदीय समितिलाई ५ दिन म्याद थपियो
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार अभावमा छट्पटिएर मृत्युवरण गरेका हंसपुर नपा–७ बस्ने १५ वर्षीय राजु सदा घटनाको छानविन गर्न गठित संसदीय समितिलाई प्रतिवेदन सार्वजनिक गर्न ५ दिनको समय प्रदेश सभाले थप गरेको छ ।
असार १४ गते प्रदेश २ सभाको बैठकबाट नेकपा सांसद रविन्द्र बैठाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा प्रदेश सभा सदस्य चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेशकुमार यादव र सावित्रीदेवी साह रहेका छन् । समितिलाई अध्ययन गर्न अझ समय लाग्ने भएकाले ५ दिनको म्याद थप गरि दिन संयोजक बैठाले असार २३ गते बसेको प्रदेश सभा बैठकमा आग्रह गरेपछि प्रदेशसभाले समय सिमा थपेको हो ।
संयोजक बैठाले राजु सदाको घर तथा उनलाई राखिएको क्वारेन्टिनको स्थलगत अवलोकन र सरोकारबालासँग छलफल गरिसकिएको बताएका छन् । अहिले राजु सदाको मृत्यु सम्बन्धी कागजातहरु प्रादेशिक अस्पतालबाट लिएर अध्ययन गरिरहेको उनले बताए । यता, प्रदेश २ सरकारले राजु सदाको मृत्युबारे गठन गरेको छानबिन समितिले दुई हप्ता भए पनि प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।
सामाजिक विकास मन्त्रालय मातहत पर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव दिलिपकुमार प्रधान सदस्य रहने गरी असार ११ गते गठित छानविन समितिलाई ७ दिनको समय दिएको भए पनि हालसम्म प्रतिवेदन भने सार्वजानिक गरेको छैन ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले अहिले अस्पतालमै केन्द्रीत रहेर समितिले अध्ययन गरि रहेको प्रतिक्रिया दिएका छन् । अस्पतालको अनुसन्धान सकिए लगत्तै राजु सदाको घर तथा क्वारेन्टिनमा गएर स्थलगत अवलोकन र छानबिन गरी चाँडै प्रतिवेदन तयार हुने सचिव घिमिरेले बताए ।
प्रकाशित समय ०९:३९ बजे

















