गृहपृष्ठ काठमाडौंमा भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन सुझाव
काठमाडौंमा भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन सुझाव
उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यकबाहेक सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । फोरमको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा काेराेना संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको बताए ।
बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको छ । यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सीआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवश्यक रहेको बताए । अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसहरुको एकपटक परीक्षण गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
प्रकाशित समय १९:३४ बजे

















