गृहपृष्ठ कोरोना ग्राफ निरन्तर उकालो : १,९११ जना संक्रमित थपिए
कोरोना ग्राफ निरन्तर उकालो : १,९११ जना संक्रमित थपिए
सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या बढ्ने क्रम जारी छ । केही दिनयता काेराेना संक्रमण काठमाडौं उपत्यकामा केन्द्रित भएको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ४४ पीसीआर परीक्षण गर्दा विभिन्न जिल्लामा १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये काठमाडौं उपत्यकाका मात्र ९४३ जना रहेका छन् । जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन् ।
बुधबार काठमाडौं उपत्यकामा ९०२ सहित देशभर १,५५९ संक्रमित थपिएका थिए । त्यसअघि मंगलबार देशभर १० हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
नेपालमा काेराेना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना काेराेनामुक्त भइ घर फर्किएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ । संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन् । क्वारेन्टिनमा रहनेकाे संख्या ५ हजार ७७ जना रहेकाे छ ।
यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टाभित्र थप ११ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेकाे छ ।
प्रकाशित समय १६:२३ बजे

















