गृहपृष्ठ प्रदर्शनकारी-प्रहरी झडप : केन्द्रीय नेता र प्रहरी जवान घाइते, दर्जन राउण्ड हवाइफायर
प्रदर्शनकारी-प्रहरी झडप : केन्द्रीय नेता र प्रहरी जवान घाइते, दर्जन राउण्ड हवाइफायर
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आमहड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।
नेता झाको टाउकोमा चोट लागेको छ भने झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् । झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाइफायर गरेको छ । जनकपुरधामका पसल बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी जानकीचोकबाट जनकचोक हुँदै शिवचोक पुगेपछि विपरीत दिशाबाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रहरीले हवाइफायर खोलेको थियो । त्यसपछि झडप भएको हो ।
प्रदर्शनकारीले गाडीमा तोडफोड गर्न लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृकाप्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाउँदै गर्दा जनकचोकबाट प्रहरीले हवाइफायर गर्न आदेश दिएपछि प्रदर्शनकारी आक्रोशित बनेका थिए । (रासस)
प्रकाशित समय १६:१९ बजे

















