गृहपृष्ठ संसद विघटन मुद्दामा मंगलबार सुनुवाइ नहुने

संसद विघटन मुद्दामा मंगलबार सुनुवाइ नहुने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ मंगलबार स्थगित हुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको सोमबार निधन भएकाले मंगलबार संवैधानिक इजलास नबस्ने प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले आजको इजलासमा जानकारी गराए ।

अदालतका प्रशासनिक कामकारबाही भने मंगलबार पनि सञ्चालन हुने सर्वोच्चले जनाएको छ ।  पाण्डेको सोमबार बिहान बानेश्वरस्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । इजलास बुधबारदेखि पुनः निरन्तर हुने प्रधानन्यायाधीश राणाले बताएका छन् ।

संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् । उनको बहस सकिएपछि सभामुखका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । त्यसपछि विज्ञहरूको समूह ‘एमीकस क्युरी’ले आफ्ना धारणा राख्नेछ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् ।ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा माघ ४ गतेदेखि सुनुवाइ भइरहेको छ ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु