गृहपृष्ठ दोस्रो चरणको कोरोना खोप अभियान सुरु

दोस्रो चरणको कोरोना खोप अभियान सुरु

फाइल तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप सुरु गरेको हो ।

दोस्रो चरणको खोप पत्रकार, कुटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपंक्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड- १९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कुटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई प्रदान गरिन थालेको हो ।

पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइएको थियो । संयोजक डा. उप्रेतीका अनुसार पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजैदेखि र अन्यलाई दुई-तीन दिनपछि लगाइने छ ।

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई शुक्रबारसम्म खोप लगाइने छ । ‘पत्रकार र कूटनीतिक नियोगका कर्मचारीवाहेक अग्रपंक्तिमा काम गर्ने कर्मचारीको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘दुई-तीन दिनपछि उनीहरुलाई पनि खोप लगाइने छ ।’ अग्रपंक्तिमा काम गर्ने कर्मचारीको विवरण संकलन भइरहेको छ । उनका अनुसार यस चरणमा करिब तीन लाख जनालाई खोप लगाइने छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाआश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाइएको थियो ।

पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कुटनीतिक नियोकलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालिएको छ । दोस्रो चरणको खोप पनि १० दिनभित्र सक्ने तयारी गरेको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचयपत्र खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ । (रासस)

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु