गृहपृष्ठ दोलखामा जिप दुर्घटना, चालकको मृत्यु, तीन घाइते
दोलखामा जिप दुर्घटना, चालकको मृत्यु, तीन घाइते
दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी जिप चालक जिरी नगरपालिका–९ ठूलो पातलका सुवास तामाङको मृत्यु भएको हो । जिपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही जिपले किचेर मृत्यु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका–७ मार्वुबाट धानको भूस लिएर जिरी नगरपालिका–९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नं को बिहान ४ बजे खावा डाँडानजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । जीप लामोसाँघु-जिरी सडकअन्तर्गत खावा सडक खण्डस्थित वैत्यश्वर गाउँपालिका– ३ र ४ को बीचमापर्ने सडकबाट तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा परी जिरी नगरपालिका– ९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका– १ गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन् । घाइते सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
(रासस)
प्रकाशित समय १४:३२ बजे

















