गृहपृष्ठ उपकुलपतिमाथि भएको व्यवहारकाे राष्ट्रिय सभामा विरोध
उपकुलपतिमाथि भएको व्यवहारकाे राष्ट्रिय सभामा विरोध

नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समय मागेर कांग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे ।
उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो । क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने लागेका थिए । पाँच दिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औं सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।
राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । विनियोजन विधेयकका विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्यक्रम छ ।
सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि, भूमि व्यवस्था तथा सहकारी, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विनियोजन भएको बजेटबारे आज जवाफ दिइने छ ।
(रासस)
प्रकाशित समय १२:३३ बजे