गृहपृष्ठ बाग्लुङमा जिप दुर्घटना, पत्रकार उजिर मगरसहित चारको अवस्था गम्भीर
बाग्लुङमा जिप दुर्घटना, पत्रकार उजिर मगरसहित चारको अवस्था गम्भीर
फाइल तस्बिर
बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेको बाग्लुङ प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर बुधबार साँझ जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायव निरीक्षक मनबहादुर विकले बताए ।
दुर्घटनामा बडीगाड गाउँपालिका–५ कि संगीता पुन, वडा नं ९ का दिलेन्द्र बुढामगर, गलकोट नगरपालिका–१० का दीपक पुन र नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेसहित अन्य चारजना घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा ल्याइएको छ ।
घाइतेमध्ये म्याग्दीको बेनी नगरपालिका–३ कि तिर्सना छन्त्याल, सोही ठाउँकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढामगर, काठेखोला गाउँपालिका–३ धम्जाका टीकाराम नेपालीलाई पनि थप उपचारको लागि पोखरा पुर्याइएको छ ।
दुर्घटनाका घाइते निसीखोला गाउँपालिका–४ का मकर थापा, नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, वडा नं ६ का लोकबहादुर खत्री, ढोरपाटन नगरपालिका–९ कि मञ्जु कार्की र उनकी छोरी रञ्जिता कार्कीको गलकोट नगरपालिका–३ स्थित आरोग्य अस्पतालमा उपचार भइरहेको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भई जीप दुर्घटना भएको हुनसक्ने प्रहरीमको प्राररम्भिक अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका हरिचौरका प्रनानि विकले जानकारी दिए । रासस
प्रकाशित समय ०८:१२ बजे

















