गृहपृष्ठ डा. गाेविन्द केसी काठमाडाैं अाउन तयार
डा. गाेविन्द केसी काठमाडाैं अाउन तयार
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक गोविन्द केसी अन्ततः काठमाडौँ आउने भएका छन् । सरकारले गुन्डा शैलीमा आफूलाई काठमाडौँ लगेपनि आफ्नो अनशन जारी राख्ने उनले बताए ।
गृहमन्त्री रामबहादुर थापाको ठाडो आदेशमा प्रहरीले केसी समर्थक विद्यार्थीलाई लाठीचार्ज गरेपछि केसीले काठमाडौँ नआउने अडान छाडेका उनका सहयोगी विषद दाहालले न्युज कारोबारलाई जानकारी दिए । बल प्रयोग गरी प्रहरी अनशनस्थलमा छिरेको र छिर्नुअघि केसीका समर्थकलाई कुटपिट गरेको उनले बताए । ‘म आफ्ना समर्थक र मेरा विद्यार्थी कुटिएको सुन्न र हेर्न सक्दिन,’ केसीको भनाइ उदृत गर्दै दाहालले भने, ‘म काठमाडौँ जान तयार छु, तर माग पूरा नभएसम्म मेरो संघर्ष जारी नै रहन्छ ।’
अनसनरत डा. गोविन्द केसीलाई जुम्लाबाट सरकारले जबर्जस्ती काठमाडौँ ल्याउन लागेको हो । डा. केसीले अस्वीकार गरेपछि काठमाडौँ फर्कन लागेको हेलिकप्टर रोक्न लगाएर गृहमन्त्री थापाले केसीलाई जबर्जस्ती भए पनि काठमाडौँ ल्याउन लागेका हुन् ।
केसी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र प्रहरी छिरेको छ । प्रहरीलाई गेटमा रोक्न खोज्ने स्थानीयबासी र स्वास्थ्यकर्मीलाई प्रहरीले भगाएको छ । गोविन्द केसीको इच्छाविपरित काठमाडौँ लैजान नदिने भन्दै प्रहरीलाई रोक्न सडकमा उत्रिएका जुम्लाबासी, विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न भन्दै डा. केसी जुम्लामा २० दिनदेखि अनसनरत छन् ।
प्रकाशित समय १२:३७ बजे

















