गृहपृष्ठ चिकित्सकहरुको आन्दोलन स्थगीत

चिकित्सकहरुको आन्दोलन स्थगीत

मुलुकी फौजदारी (अपराध तथा देवानी) संहिता, २०७४ ले गरेको व्यवस्थाप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । नेपाल सरकार र चिकित्सक संघबीचको वार्तामा संहिताका ५ बुँदामा संशोधन गर्ने सहमति भएपछि संघले अस्पताल बन्दको आन्दोलन सोमबारसम्मका लागि स्थगित गरेको हो ।

यद्यपी संघले आन्दोलनका सबै कार्यक्रमहरु भने सहमतिका बुँदा मन्त्रीपरिषद्बाट पास भएर संसदमा जाने निश्चित भएपछिमात्र स्थगित हुने संघका महासचवि डा. लोचन कार्कीले बताए । ऐन संशोधन संसदको कार्यक्षेत्रभित्रको विषय भएकाले पनि संसदमा प्रवेश गरेर सहमतिको कार्यान्वयनको सुनिश्चितता चिकित्सकहरुले खोजेका छन् ।

सरकारले आगामी सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट सो सहमतिलाई पास गर्ने भनिएकाले आफूहरु सोमबारसम्म आन्दोलन स्थागीत गर्न तयार भएको कार्कीले बताए । ‘संशोधनका बुँदामा सहमति भएको छ,’ उनले भने, ‘तर यो सहमति मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुनुपर्छ । त्यसका लागि आगामी सोमबार मन्त्रीपरिषद्को बैठक बस्ने बताइएकोले हामीले त्यो समयसम्म कुर्ने भएका हौं ।’

अस्पताल बन्द अलगायतका आन्दोलनका कार्यक्रम स्थगीत गरिएको भए पनि अन्य दबाबका कार्यक्रम भने यथावत राखिएको कार्कीले बताए । शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गर्ने कार्यक्रमलाई सोमबारसम्म सारिएको कार्कीले जानकारी दिए । तर, सोमबारको मन्त्रिपरिषद्ले सहमति पास नगरे पुनः आन्दोलनमा उत्रिने कार्कीको चेतावनी थियो ।

सरकारको तर्फबाट वार्ताको नेतृत्व गरेका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सकहरुसँग भएको सहमतिलाई ऐन संशोधन प्रकृयामा पठाउन मंगलबार नै स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने जानकारी दिए । मन्त्रालय र चिकित्सक संघबीच ऐन संशोधनका विषयमा साझा धारणा बनेको बताउँदै यादवले चिकित्सकहरुले पुनः आन्दोलन गर्नुपर्ने स्थिति आउन नदिन मन्त्रालय प्रयासरत भएको उल्लेख गरे ।

‘चिकित्सक संघसँग मन्त्रालयले ऐन संशोधनको विषयमा साझा धारणा बनाएको छ,’ राज्यमन्त्री यादवले भने, ‘यसलाई संशोधन प्रकृयामा पठाउन मंगलबारनै स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने छ ।’

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु