गृहपृष्ठ अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन असार ३ र ४ गते
अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन असार ३ र ४ गते
सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते (तद्अनुसार जुन १७ र १८ तारीख) दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ आयोजना गर्न लागेको छ ।
क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म आईसीटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रुपमा अघि बढाइ रहेकोमा यस वर्षदेखि विशेष प्राथमिकतासाथ अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञ समेतको उपस्थितिमा छुट्टै कार्यक्रमको रुपमा आयोजना गर्न लागेको हो ।
Sustainable development goals for smart society (स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य)नारा दिइएको आईसीटी कन्फ्रेन्समा नेपाल सरकारको पनि उच्च स्तरिय सहभागिता रहनेछ र सोही अनुसार कार्यक्रमको समुद्घाटन हुनेछ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासका लक्ष्यमा सूचना प्रविधिको प्रयोगतर्फ सरकारका तर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यान्वयन गर्नका लागि आगामी दिनमा चाल्ने कदमसहितको विस्तृत जानकारी दिनेछन् ।
त्यस्तै चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का विषयगत विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
दुर्इ दिन चल्ने आईसीटी कन्फ्रेन्समा विशेषज्ञहरुले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । साथै Smart Society, SDGs, सूचना प्रविधि विज्ञ, नेपाल सरकारका प्रतिनिधि, राजनैतिक नेतृत्व, स्थानिय निकायका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञहरुको सहभागितामा समूहगत छलफल हुनेछ ।
समूहगत छलफलमा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीय तह) निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्वन्धित निकायहरुलाई हस्तान्तरण गरिनेछ । साथै शहरी विकास मन्त्रालय अन्तर्गत Smart City को Master Plan बनाउने कार्यलाई प्रबर्धन गर्ने उद्देश्यले सुचना प्रविधिको क्षेत्र संग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजना छ ।
प्रकाशित समय १६:३४ बजे

















