गृहपृष्ठ जुन संकटले छिन्न सक्छ एर्दोआनको कुर्सी
जुन संकटले छिन्न सक्छ एर्दोआनको कुर्सी
यहाँ देखिने खल्डो कुनै फुटबल मैदानभन्दा ठूलो छ, जुन ५० मिटर अर्थात् करिब १ सय ६५ फिटको गहिराईसम्म कुँदिएको छ । चट्टानको अनगिन्ती सतह बनेको छ । तर यहाँ जीवनको अभाव छ, मात्र सीगल (एक किसिमको जनावर) भेटिन्छ, जुन फोहोर पानी पिएर बाँचेको हुन्छ ।
वास्तवमा इस्तांबुलको फिकिरतेफे नामको यो जिल्ला इस्तांबुलको विकसित जिल्ला हुनुपर्ने थियो, जहाँ गगनचुम्मी भवन, ठूला–ठूला अपार्टमेन्ट, आकर्षक सपिङ मल र स्पा हुनेपर्ने थियो ।
करिब सन् २०१० मा जारी एउटा भिडियामा यो क्षेत्र यस्तै हुने कल्पना गरिएको थियो । यसका लागि करिब १५ हजार मानिसको घर भत्काइएको थियो । जिल्ला विकास गर्ने योजनामा साथ दिँदै कतिपयले आफ्नो जायजेथा विकासका प्रोजेक्टमा लगाइदिएका थिए ।

तर, आर्थिक संकटले छोपेपछि लगानीकर्ताहरु अन्तै मोडिए र यो क्षेत्रको विकास पनि अन्योलमा पर्यो । यस क्षेत्रका बासिन्दाले देखेको सपना चकनाचर हुन पुग्यो ।
यसबाट अनुमान लगाउन मुस्किल छैन, गएको १६ वर्षदेखि टर्कीको सत्तामा आसिन रिसेप तायेप एर्दोआनका लागि यो आर्थिक मन्दी सबैभन्दा बढी खतरापूर्ण बनेको छ ।
यसै हप्ता हुन लागेको स्थानीय निर्वाचनभन्दा पहिले गरिएको सर्वेक्षणले राजधानी अंकारा र सम्भवतः इस्तांबुलमा समेत सत्तारुढ पार्टीले आफ्नो नियन्त्रण गुमाउने अवस्थामा पुगेको देखाएको छ ।
जेनेप डोजगूनोलदू, साठी वर्षीया महिला हुन् । आँखामा आँसु टिलपिल पार्दै जेनेप आफ्नो पुरानो घर देखाउँछिन् जुन अन्जिरको रुखको पछाडि थियो ।

जेनेप भन्छिन्, ‘मान्छेहरु मेरो घरलाई सुन्दर किचन भएको घर भन्थे । तर, अब रुकसाक ब्याग (काँधमा भिरेर हिँड्ने ब्याग¬) नै मेरो घर हो । बच्चासँग पैसा माग्न मलाई लाज लाग्छ ।’
फिरडेब्स उलउकाकको घर एक निर्माणाधीन साइटको किनारमा थियो, जुन घर निर्माणाधीन साइट खन्ने क्रममा प्रभावित बन्यो । अहिले उनी आफ्नो आक्रोस वर्तमान राष्ट्रपति एर्दोआनमाथि खन्याउँछिन् ।
फिरडेव्सका अनुसार अहिले उनी राष्ट्रपतिलाई घृणा गर्छिन् । उनी भन्छिन्, ‘मैले सधैं उनैलाई भोट दिएँ तर उनले मान्छेहरुलाई बर्बाद गरिदिए ।’
गएको १६ वर्षमा एर्दोआनले टर्कीको विकासमा निर्माण कार्यलाई मुख्य रुपमा प्रयोग गरेका छन् । उनको मेगा प्रोजेक्ट जसमा एयरपोर्ट, पुल र सुरुङजस्ता योजना समावेश छन् । यसले देशको इन्फ्रास्ट्रक्चरको तस्बिर नै बदलिदिएको छ ।

यतिमात्रै होइन, एर्दोआनले गगनचुम्बी हाउजिङहरु निर्माण गर्ने क्रममा शहरहरुको रुपरेखा नै परिवर्तन गरिदिएका छन् । निर्माणका सबै काम राजनीतिक स्वार्थ र नातावादका आधारमा जिम्मा लगाइएका छन् । निर्माण कार्य भ्रष्टाचार र भाइ भतिजावादको दलदलमा फँसेको छ ।
यी सबका बीच महंगी दर अब २० प्रतिशतसम्म पुगिसकेको छ । टर्कीको मुद्रा लीराको मूल्य करिब एक तिहाइ कम भइसकेको छ । यस्तोमा कच्चा सामानको आयात महंगो भएको छ र विदेशी ऋण लगातार बढिरहेको छ । त्यसैले निर्माणको काममा लागेका कम्पनीहरु पनि टाट पल्टिएका छन् ।
फिकिरतेपे प्रोजेक्टमा काम गरिरहेका ठूलो कारोबारीमध्येका एक पाना यापीका अनुसार पूरा मुलुक आर्थिक संकटमा रहेकाले निर्माण क्षेत्रमा त्यसको ठूलो असर परेको छ ।
यही कारण क्रेनहरले काम रोकका छन् । गगनचुम्बी भवनहरु अधुरै छाडिएको छ । यसबाट इस्तांबुलको संकट प्रष्ट रुपमा झल्किरहेको छ ।
टर्कीमा गत वर्ष सुरु भएको आर्थिक मन्दीले अहिलेसम्म अर्थव्यवस्थालाई तीन प्रतिशतले खुम्च्यिाइसकेको छ । कतिपय विश्लेषकहरुले यो टर्कीले अझै खराब अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
इस्तांबुल इकोनोमिक रिसर्चका महाप्रबन्धक क्यान सेलचुकी भन्छन्, ‘टर्की बढी त विदेशी ऋणमा निर्भर छ, यस्तै ऋण तिर्न मुस्किल हुन थाल्नुले स्पष्ट देखाउँछ कि टर्कीको हालत के छ भनेर । हामी ठूलो संकटमा छौं । हामीलाई ठूलो परिमाणमा विदेशी मुद्रा चाहिएको छ । यसका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोग माग्न जरुरी छ ।’
तर, राष्ट्रपति एर्दोआन अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिन मानिरहेका छैनन् । किनकि, आइएमएफबाट ऋण लिनका लागि कडा सर्तहरु मान्न तयार हुनुपर्छ ।
आर्थिक मन्दी चलिरहेका बेला राष्ट्रपति एर्दोआनलाई केही अन्य मुद्दातिर पनि मोडिनुपरेको छ । चुनावी र्यालीमा आफ्ना निष्ठावान समर्थकको भरोसा जित्नका लागि उनी न्युजिल्याण्डको मस्जिदमा भएको आक्रमणको भिडियो समेत देखाइरहेका छन् ।
खाने पिउने चिजको दाममा (जो तीन गुणसम्म बढेको छ) मा अंकुश लगाउनका लागि सरकारले किसानबाट सिधै तरकारी किनेर बेच्न थालेको छ । बिचौलियालाई भगाउन सरकारले सार्वजनिक स्थानमा आफ्नो स्टल राखेको छ । राष्ट्रपतिले यस्ता बिचौलियालाई ‘खाद्य आतंकवादी’ सम्म भनेका छन् ।

सरकारी स्टलमा टमाटर, बैगुन र साग सुपरमार्केटको तुलनामा आधा दाम कममा पाइन्छ । तर, कतिपयले यसलाई चुनावमा जनतालाई आफूतिर आकर्षित गर्न सरकारले गरेको फण्डाका रुपमा बुझेका छन् ।
टर्कीको अर्थव्यवस्थाले नै रिसेप तायेप एर्दोआनको सत्तालाई बलियो बनाएको थियो । यही अर्थव्यवस्थाले उनलाई सत्ताच्यूत गर्न सक्ने जानकारहरु बताउँछन् ।
प्रकाशित समय १४:२९ बजे

















